प्रदेश ५ सरकारद्वारा स्वास्थ्यमा २४ करोड विनियोजन, शिशु र सुत्केरीका लागि पोषण भत्ता

स्वास्थ्यआवाजडटकम १ असार  प्रदेश ५ सरकारले आर्थिक बर्ष ०७५÷७६ को लागि २८ अर्ब ९ करोड ३ लाख रूपैयाँ वराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।

 

बजेटमा स्वास्थ्य क्षेत्रमा २४ करोड विनियोजना गरेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शंकर पोखरेलले बजेट प्रस्तुत गरेका हुन् । उनले दुर्घटनामा परी अंगभंग हुनेहरूको सहज उपचारको लागि दाङको लमहीमा ट्रमा सेन्टरको स्थापना गर्न २ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

 

यस्तै स्थानीय तहमा स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्दै लैजान समेत बजेटको व्यवस्था गरेको बताए । हाइड्रोशीलको निःशुल्क उपचार र आमा सुरक्षा कार्यक्रमको लागि पनि बजेटमा रकम छुट्याएको उनले उल्लेख गरे । थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको उपचार र अनुसन्धान साथै थालासेमिया रोग निदान र जनचेतनाको लागि १ करोड विनियोजन भएको छ । बजेटले स्वास्थ्य सेवाको पहुँज सहज गराइने, प्रदेशका सबै जिल्लामा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्न एक करोड विनियोजन गरेको छ ।

 

सुरक्षित मातृत्वको लागि बर्थिङ सेन्टरहरु विस्तार र सुधार गर्न एक करोड विनियोजन भएको छ । प्रदेश मातहत संचालित अस्पतालहरूको सुदृढीकरणको लागि ३ करोड, अस्पतालहरूमा पोष्टमार्टम तथा मर्चरी रुम निर्माणको लागि २ करोड ४० लाख विनियोजन भएको छ ।

 

‘विशिष्टीकृत स्वास्थ्य सेवा प्रवद्र्धनमा जोड दिइनेछ’ मुख्यमन्त्री पोखरेलद्धारा प्रस्तुत बजेटमा उल्लेख छ ‘विशेषज्ञ सेवा विस्तार तथा आधुनिक सुविधायुक्त प्रादेशिक अस्पताल निर्माण गर्न २ करोड १० लाख बजेट विनियोजन भएको छ ।

 

प्रदेशका तीन अञ्चल अस्पतालमा आइसियूसहितको एम्बुलेन्स

 

प्रदेश ५ मा रहेका तीन वटा अञ्चल अस्पतालको लागि आइसियू सहितको एग्रेडको एम्बुलेन्स व्यवस्था गर्न १ करोड ५० लाख विनियोजन छ । स्वास्थ्य संस्थाहरूलाई आवश्यक उपकरण उपलब्ध गराइने पनि जनाइएको छ ।

 

५० बेडका सरकारी अस्पतालमा अनिवार्य रूपमा २ वटा एम्बुलेन्सको व्यवस्था गर्न २ करोड ८६ लाख बजेट विनियोजन गरेको मुख्यमन्त्री पोखरेलले जनाएका छन् । प्रदेश भित्रका अस्पतालहरु र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा एक्स रे र भिडियो एक्स रेको व्यवस्था गर्न १ करोड ५० लाख विनियोजन गरेको उनले बताए ।

 

शिशु र सुत्केरीका लागि पोषण भत्ता

 

दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य प्रयोगशाला सेवा विस्तार र पहुँच पुराउन २ करोड बजेट विनियोजन भएको छ ।साथै, प्रदेश भित्र स्वास्थ्य संस्थाको गुणस्तर सुदृढीकरण कार्यक्रमको लागि ३ करोड, गरिब घर परिवारका बालबालिकलाई कुपोषणबाट बचाउन न्यून आय भएका सुत्केरी महिलाहरुलाई पहिलो दुई सन्तानसम्म आमा र बच्चाको स्वास्थ्य सुरक्षाको लागि पोषण भता दिन बजेटको व्यवस्था भएको छ ।

 

आयुर्वेदिक चिकित्साको विकास र प्रबद्र्धनका लागि १ करोड ४५ लाख विनियोजन भएको छ । यस अन्तर्गत आयुर्वेदिक चिकित्सासँग सम्बन्धित विभिन्न कार्यक्रम संचालन गरिने जनाइएको छ ।

Comments

Pin It on Pinterest

Share This

Share this post with your friends!