Swasthya Awaj
बिर्तामोडमा कालाजारको संक्रमित फेला

झापा: झापा बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षीय पुरुषमा कालाजारको संक्रमण देखिएको हो ।

संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका,सरोकारवाला लगायतलाई अभिमुखीकरण तथा सक्रिय खोजपडताल परिक्षण कार्यक्रम अघि बढाएको छ ।

बुधबार वडा नम्बर ५ को वडा कार्यालयमा वडाअध्यक्ष रोहित प्रसाईँको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कालाजार रोग फोकल पर्सन वीरेन्द्र दासले रोगका विषयमा सम्पुर्ण जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारीमा नजिकका १७ जनाको आरडिटी किट मार्फत रगत परीक्षणसमेत गरेको छ । परिक्षण गरिएका सबैमा संक्रमण नदेखिएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो ।

परिक्षणमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिको समेत उपस्थिति रहेको स्वास्थ्य कार्यालयका प्रयोगशाला सहायक चन्द्र शेखर कुमार यादवले जानकारी दिनुभयो । प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्ड फ्लाई’ नामको पोथी भुसुनाको टोकाईबाट मानिसमा कालाजार संक्रमण हुने गर्छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update