कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी तथा नसा रोग विभागमा हड्डीदुख्ने समस्यादेखि जटिल खालका शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी उपचारका लागि आउने गर्छन्। विभाग अन्तर्गत हामीले नियमित ओपिडिदेखि हातखुट्टा भाँचिएका, मेरूदण्डमा चोट लागेका बिरामीको अप्रेसन गरेर उपचार गर्ने गरेका छौं। जोर्नी खिइएको तथा भाँचिएको बिरामीहरूको जोर्नी प्रत्यारोपण पनि प्रतिष्ठानमा हुन्छ।
हाडजोर्नी विभाग मार्फत हाल चार जना विशेषज्ञ चिकित्सकसहितको टिमले सेवा दिइरहेको अवस्था छ। प्रतिष्ठानको शिक्षण अस्पतालमा हाडजोर्नीको उपचारका लागि आउनेमध्ये चोटपटक लागेका बिरामी धेरै हुन्छन्। त्यसमा जुम्ला जिल्लाबाट मात्र नभएर मुगु, कालिकोट, डोल्पा र हुम्लाका विभिन्न पालिकाहरूबाट आउने गरेका छन्। चोटपटक लागेका बाहेक विशेषगरी ढाडको हड्डी खिइएका‚ घुँडाको जोर्नी खिइएका‚ वाथ रोग र युरिक एसिडका बिरामीहरू आउने गरेका छन्।
पहिलाको तुलनामा बिरामीहरुको संख्या उल्लेख्य रूपमा बढेको छ। त्यसका विभिन्न कारणहरु छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू भएको कारणले पनि बिरामीको संख्या बढेको छ। पहिला उपचार नै नगरी घरमा बस्नेहरु अहिले अस्पतालमा आउन थालेका छन्। अर्को यहाँको सेवा सुविधा सायद राम्रो भएको कारणले पनि होला छिमेकी जिल्लाहरूबाट पनि यहा हाडजोर्नीका बिरामी धेरै आउने गरेका छन्।
कर्णालीको कुरा गर्नुपर्दा अधिकांश क्षेत्र ग्रामीण भेगमा नै पर्छ हो। यहाँ अहिले पनि खुल्ला छत भएको रेलिङ नभएका घरहरू छन्। भर्याङ पनि रेलिङ नभएको काठको हुनाले त्यहाँबाट खसेर विशेष गरि बालबालिका र बुढाबुढीहरू धेरै चोटपटक लागेर आउने गर्छन्। त्यस्तै भिर तथा पहाडमा घाँस दाउराको जोहो गर्न जाँदा पनि त्यस्ता चोटपटक लागेर आउनेको संख्या पनि धेरै छ। हाडजोर्नी तथा नसारोगको समस्या लिएर एक डेढ वर्षका देखि लिएर ९२ वर्ष सम्मका मानिसहरूको उपचार गराउन आएको तथ्यांकले देखाएको छ। समग्रमा भन्दा जुनै समयमा पनि हाडजहोर्नीका बिरामी ओपिडीमा ८० देखि एक सय जना आउने गर्छन्।
कर्णालीमा हाडजोर्नीका जटिल शल्यक्रिया
प्रतिष्ठानको शिक्षण अस्पतालमा सामान्यदेखि जटिलखालका शल्यक्रियाहरु भइरहेका छन्। जोर्नी प्रत्यारोपण, त्यस्तै मेरूदण्डको शल्यक्रिया, घाँटीको पछाडिको मेरूदण्डको शल्यक्रियाहरू भइरहेको अवस्था छ। यी शल्यक्रियालाई जटिल नै मानिन्छ। कति बिरामीहरू बाहिर अप्रेशन गरेर पाकेर यहाँ आएका बिरामीको उपचार गरेर निको पारेका पनि छौं। उपलब्ध भएका स्रोत र साधनले धेरैभन्दा धेरै सेवा दिइरहेको अवस्था छ। यहाँको सेवाबाट बिरामीहरु पनि सन्तुष्ट छन्। बिरामीहरू खुसी र सन्तुष्ट भएर नै अस्पतालमा बिरामीको चाप बढेको हो भन्ने लाग्छ।
जुम्लामा पहिलेको तुलनामा सडकको पहुँच पनि बढेको छ भने दुर्घटनाको केशहरू पनि बढेका छन्। त्यहि अनुसार बिरामीहरू आउने गर्छन्। त्यस्तै पहाडी तथा हिमाली जिल्लाहरुमा सडकको पहुँच भएपछि रिफर भएर आउने बिरामी पनि बढेका छन्। छिमेकी जिल्लाहरु मुगु र कालिकोट सहित पश्चिममा बाजुरा सम्मका बिरामी पनि आउने गर्छन्।
तर अझै पनि ग्रामीण भेगमा जनचेतनाको अभावका कारण अत्यधिक गार्हो नभएसम्म अस्पताल नजाने गरेको अवस्था पनि छ। झारफुकमा पहिले जाने र धेरै बिग्रिसकेपछि अस्पताल आउनेहरु पनि अझै छन्। समयमा उपचारमा नजाने र रोग बिग्रेपछि डाक्टरकोमा आउनेको संख्या घटाउन अझै धेरै काम गर्न बाँकी नै छ। रोगले थलिएपछि आउने बिरामीलाई ठिक पार्नु हाम्रो लागि चुनौती हुन जान्छ। हाडजोर्नीको कुरा गर्दा हातखुट्टा भाचिँदा गाउँघरमा काप्रो बाध्ने चलन अहिले पनि रहेको छ। राम्रोसँग बाध्न सकिएन वा जानिएन भने, कडा रूपमा बाँधियो भने हातखुट्टा नै काट्नुपर्ने पनि हुन्छ त्यस्ता १-२ वटा केश पनि हामीले शिविरका क्रममा भेटेका छौं र उपचार गरेका छौं। त्यसकारण कर्णालीमा सेवा विस्तारसँगै जनचेतनाको काम पनि सँगसँगै लैजानुपर्ने अवस्था छ।
अस्पताल सेवा तर्फको कुरा गर्नुपर्दा अहिले सुपर-स्पेशलाइजेसनको जमानामा त्यही अनुसारको दक्ष जनशक्तिहरू अस्पतालमा हुनुपर्छ। विशेषज्ञ मात्र भएर भएन उहाँहरूले काम गर्नको लागि आवश्यक पूर्वधारहरू पनि पर्याप्त हुनुपर्छ।यस्तो दुर्गममा काम गर्ने डाक्टरको लागि समयमा स्तरवृद्धि तथा आवश्यक प्रोत्साहन जस्ता कुराको व्यवस्था भयो भने सेवा अझै बढाउन सकिन्छ।
(हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा रोकायासँगको कुराकानीमा आधारित)