Swasthya Awaj
८१ वर्षीय हजुरबुवाले दिए २१ वर्षीय नातिनीलाई आफ्नो मिर्गौला

काठमाण्डौः भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा संसारमै दुर्लभ अंगदान भएको छ । ८१ वर्षीय हजुरबाले २१ वर्षीया नातिनीलाई अंगदान गर्नुभएको छ । 

सप्तरीको राजगढ गाउँपालिका–४ निवासी श्रीगरेसी साहले २१ वर्षीया नातिनी सोनी कुमारी साहलाई मिर्गाैला दान गर्नुभएको हो ।केन्द्रमा यही चैत १९ गते मिर्गाैला प्रत्यारोपण गरिएको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । 

नातिनीलाई मिर्गाैला दान गरेर नयाँ जीवन दिन पाएकोमा एकदमै खुसी भएको हजुरबाले बताउनुभयो। सोनाका बुबाले पनि मिर्गाैला दान गर्न खोज्नुभएको थियो । तर उच्च रक्तचापको समस्या भएका कारण उहाँले दान गर्न सक्नुभएन । स्वास्थ्य परीक्षणका क्रममा हजुरबा मिर्गाैला दान गर्न योग्य देखिएपछि उहाँले दान गर्नुभएको हो । 

मिर्गाैला दान गर्ने हजुरबा शल्यक्रिया भएको ४ दिनपछि र मिर्गाैला ग्रहण गर्ने नातिनी ६ दिनमा आइतबार डिस्चार्ज हुनुभएको छ । आफ्नो इच्छा छ भने कुनैपनि उमेरका व्यक्तिले अंगदान गर्न सक्छ भन्ने यो घटनाले देखाएको केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठले बताउनुभयो । ८१ वर्षको मिर्गौला दाता संसारमा बिरलै हुने श्रेष्ठको दावी छ । राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १२२७ जनाको मिर्गाैला प्रत्यारोपण भइसकेको छ । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update