जुम्लाः पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लाको जम्मा जनसंख्या १ लाख १८ हजार ३ सय ४९ जनसंख्या मध्ये ९० हजार ४ सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जस अनुरुप कुल जनसंख्याको ७६.३९ प्रतिशत जनसंख्या आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डको रेकर्डमा देखिन्छ ।
हालसम्म ३५ हजार ७ सय २४ महिला र ४४ हजार ६ सय ८७ जना पुरुष स्वास्थ्य बीमामा आबद्ध भएका जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका ११ हजार छ सय ४८ घरपरिवार बीमामा आबद्ध छन् ।” विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको उहाँको भनाइ छ
स्वास्थ्य बीमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्णरुपमा जानकारी नहुँदा यसको महत्वबारे बुझेका थिएनन् । अहिले बीमा सहजकर्ता घरघरमा गएर बीमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बीमामा आबद्ध हुने स्थानीयको सङ्ख्या बढेको कार्यालय प्रमुख प्रेम भण्डारीले बताउनुभयो ।
जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पुर्याउनका लागि कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उहाँको भनाइ छ । सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अतिगरिब घरपरिवारलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ ।
अन्यको हकमा शुल्क लिएर रु १ लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको कार्यालयले जनाएको छ । बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सह भुक्तानीको व्यवस्थासमेत गरेको छ । सरकारले विसं २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो ।