-1712732367.png)
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न आग्रह गरेका छन् । बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले आयोजनामा सुरु भएको दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनको वौद्धस्थित हायात होटलमा उद्घाटन गर्दै राष्ट्रपतिले सो आग्रह गरेका हुन् ।
‘नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान अगाडि बढाउनुहुनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘तथ्यमा आधारित अनुसन्धानले नीति तथा कार्यक्रमका लागि सहयोग पुग्नेछ । ’अध्ययन, अनुसनधानलाई महत्व दिनुपर्ने बताउँदैं उनले खोज अनुसन्धानलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिए ।
नसर्ने रोग, मानसिक रोगजस्ता अनुसन्धानले सहयोग उनको भनाइ थियो । आधारभूत स्वास्थ्य सेवामा समान पहुँचजस्ता संवैधानिक काम पूरा गर्न सरकारले गम्भीर हुनुपर्नेमा राष्ट्रपतिको जोड थियो । ‘प्रतिभा पलायन रोक्न, सार्वजनिक सेवा प्रवाह सरल र सहज बनाउन सम्मेलन सुझाव दिनेछ,’ पौडेलले भने, ‘सर्वसुलभ स्वास्थ्य सेवा बनाउन सम्मेलनले ठोस सुझाव दिनेछ ।
’कोभिडको समयको अध्यनन, अनुसन्धानमा एनएचआरसीले सफल भूमिका खेलेकोमा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरे । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले समृद्ध देश र समाजवाद प्राप्ति स्वास्थ्य अनुसन्धान बिना पूरा हुन नसक्ने बताए । ‘समृद्व देश र समाजवाद प्राप्ति स्वास्थ्य अनुसन्धान बिना पूरा हुँदैन्,’ उनले भने ।
मन्त्री यादवले सरकारको स्वास्थ्यका नीति पूरा गर्न समेत अनुसन्धान महत्वपूर्ण रहेको उल्लेख गर्दै दिगो विकास लक्ष्य पूरा गर्न यसले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सम्मेलनले नयाँ विकल्प सिफारिस गर्ने बताए । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सम्मेलनले आगामी दिनमा स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘तथ्यमा आधारित अनुसन्धान मानव स्वास्थ्यका लागि अतलनीय हुन्छ,’ उनले भने, ‘यसले देश, भाषा, लिंग, जात, संस्कृति हेर्दैन ।’ उनले सम्मेनले निष्कर्ष निकालेका सुझावहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने बताए । ‘जुन राष्ट्रका लागि योजना बनाउन र कार्यन्वयन गर्न सहयोगी हुनेछन्,’ उनले थपे ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवराज अधिकारीले सम्मेलनले युवादेखि अनुभवी अनुसन्धानकर्तालाई जोड्ने काम गरेको बताए । एनएचआरसीका सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलनमा अतिथी तथा उपस्थितहरुलाई स्वागत गरेका थिए । २८, २९ र ३० चैतसम्म चल्ने सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुनेछ ।
सम्मेलनमा नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्यलगायतका १५ वटाभन्दा बढी विषयमा सामूहिक छलफल हुनेछ । यस्तै, सम्मेलनमा विभिन्न १० विधामा एवार्डहरू प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरूको शिखर सम्मेलन गर्दै आइरहेको छ । स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरूबीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नवीनतम अनुसन्धानद्धारा सम्बोधन गर्ने उद्देश्यले वि।स। २०७१ देखि परिषद्ले शिखर सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।