Swasthya Awaj
एनपीएलका २ प्रयोगशाला एनएबीएलबाट प्रमाणिकरण, परीक्षण अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य

काठमाडौं: नेशनल प्याथ ल्याब (एनपीएल) का बुटवल र काठमाडौंका प्रयोगशाला नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरिज् (एनएबीएल) बाट प्रमाणिकरण भएका छन् । एनएबीएल भनेको प्रयोगशाला प्रमाणिकरण गर्ने भारत सरकारको संस्था हो।

यही संस्थाले नेशनल प्याथ ल्याब बुटवल र काठमाडौंलाई आइएसओ १५१८९: २०१२ बाट प्रमाणिकरण गरेको एनपीएलका प्रबन्ध निर्देशक पवन जोशीले जानकारी दिनुभयो।

प्रमाणिकरणका लागि एक वर्ष भन्दा बढी समय लागेको जोशीले बताउनुभयो । ‘हामीले एक वर्षअघिबाट एक्रिडिटेसनको प्रक्रिया सुरु गरेका थियौं,’  जोशीले भन्नुभयो, ‘केही दिनअघि मात्रै हाम्रा दुवै प्रयोगशाला एक्रिडिटेसन प्रमाणिकरण भएका छन्।'

जोशीका अनुसार एनएबीएलले प्रयोगशालाको गुणस्तर हेरेर प्रमाणिकरण गर्ने गर्दछ । ल्याबका सबै प्रक्रियाहरू ठीक छ र यसले गर्ने सबै परीक्षणहरु गुणस्तरीय छन् भन्ने सुनिश्चितता भएपछि मात्रै प्रमाणिकरण दिइन्छ।अब यस ल्याबमा गरिएका परीक्षणहरु अन्तर्राष्ट्रियस्तरमै स्वीकार्य हुने प्रबन्ध निर्देशक जोशीको दावी छ। 

एनपीएलका अध्यक्ष रुद्र बहादुर कार्कीका अनुसार एनपीएलले काठमाडौं ल्याबमा हेमाटोलोजी, बायोकेमेष्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, क्लिनिकल प्याथोलोजी, इम्युनो हिस्टो प्याथोलोजी विभागलाई एक्रिडिटेसन गराएको छ। जसमा झण्डै ११६ वटा परीक्षणहरू एक्रिडिटेसन गराइयो।बुटवलमा ५६ वटा टेष्टहरु एक्रिडिटेसन गरिएको छ भने त्यहाँ हेमाटोलोजी, क्लिनिकल प्याथोलोजी, बायोकेमेष्ट्री, बायोकेमेष्ट्री र इम्युनोलोजी विभागलाई एक्रिडिटेसन गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो।

वि.सं. २०६९ सालमा बुटवलबाट सुरु भएको एनपीएलका अहिले देशभर ९ वटा शाखाहरू रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो। जसमध्ये २ वटा एनएबीएलबाट प्रमाणिकरण भएका हुन् । 

एनपीएल काठमाडौं र एनपीएल. बुटवल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हुन् । एन.पी.एल.ले काठमाडौंमा ७ सय बढी र बुटवलमा ४ सय बढी इनहाउस परीक्षणहरु गर्दै आएको छ । स्याम्पल परीक्षण, कर्मचारीका हिसाबल पनि नेशनल प्याथ ल्याब नेपालकै ठूलो ल्याबमा पर्ने अध्यक्ष कार्कीको भनाइ छ। 

नेपालका धेरै प्रयोगशला र अस्पतालले नगर्ने परीक्षण आफ्नो प्रयोगशालामा हुँदै आएको कार्कीले दावी गर्नुभयो। ‘निकट भविष्यमै नेपालमै जेनेटिक परीक्षण, न्यूवर्न स्क्रीनिङ, साइटोजेनिटिक्स तथा फिस प्रविधि स्थापना गरी परीक्षणका लागि तयारी अगाडि बढाएका छौँ' कार्कीले भन्नुभयो, 'एनपीएलले फ्लोसाइट्रोमेट्री प्रविधिबाट ब्लड क्यान्सर सम्बन्धि जाँचहरु, इम्युनोहिस्ट्रोकेमेष्ट्री प्रविधिबाट अन्य क्यान्सर सम्बन्धि जाँचहरु, पिसिआर प्रविधिबाट इन्फेसियस डिजिज सम्बन्धि जाँचहरु, इम्युनो फ्लोरेसेन्स र मल्टीप्लेक्स पिसिआर प्रविधीबाट अन्य जाँचहरु गर्दै आएको छ ।

यस्तै, रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइटिस/इन्सेफ्लाइटिस प्यानललगायतका जाँचहरु पनि नेशनल प्याथ ल्याबमा उपलब्ध छन् । 

यस प्रयोगशालाका अन्य शाखाहरु पनि एनएबीएल प्रमाणिकरणका लागि प्रक्रियामा लैजाने प्रबन्ध निर्देशक जोशीले जानकारी दिनुभयो। 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update