
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनमा १० विदाको अवार्ड वितरण भएको छ । सम्मेलनको आज अन्तिम दिन समापन समारोहमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा रोशन पोखरेल र परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले अवार्ड वितरण गरेका हुन् ।
कसले कुन पुरस्कार पायो ?
उत्कृष्ट पोस्टर प्रिजेन्टेसन अवार्ड प्रतीक्षा पौडेलले पाउनुभएको छ । सम्मेलनमा २६३ जनाले पोस्टर प्रिजेन्टेसन गरेका थिए ।
उत्कृष्ट मौखिक प्रस्तुतीको पुरस्कार किरण आचार्यले पाउनुभयो । कार्यक्रममा ५७ वटा मौखिक प्रस्तुती गरिएको थियो ।
यसै गरी परिषद्को जर्नलमा एक वर्ष (सन् २०२३) भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई लिइने जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवार्ड-२०२३ गंगा जिसीले पाउनुभयो ।
उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२३ लुम्बिनी मेडिकल कलेज सहप्राध्यापक डा.आलोक आत्रेयलाई प्रदान गरिएको छ।
मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ चिकित्सक तर्फ डा.गम्भीर श्रेष्ठले पाउनुभएको छ।
मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ स्वास्थ्य अनुसन्धान परिषद्को कर्मचारीतर्फ प्रदीप बेलबासे पाउनुभयो ।
युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ सुनिल श्रेष्ठलाई प्रदान गरियो।
परिषद्को उत्कष्ट कर्मचारीको पुरस्कार चन्द्र भुषण यादवलाई प्रदान गरिएको छ । यादव परिषद्को पुस्तकालय तथा सूचना सेक्सनका प्रमुख हुनुहुन्छ ।
परिषद्को उत्कृष्ट शाखाको पुरस्कार अवार्ड 'इथिकल रिभ्यू मनिटरिङ एण्ड इभ्यालुएसन सेक्सनले पाएको छ ।
लाइफ टाइम एचिभमेन्ट अवार्ड-२०२३ डा.मृगेन्द्र राज पाण्डेले पाउनुभएको छ। यो अवार्ड स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगिसकेका स्वास्थ्य अनुसन्धानकर्तालाई प्रदान गरिन्छ।
सम्मेलनको समापन समारोहका लागि उपस्थित हुनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिव डा.रोशन पोखरेल पुरस्कार प्रदान गर्नुभयो।
बुधबारबाट सुरु भएको सम्मेलन आज सकिएको छ ।