विकास गतिशील छ । त्यो सँगसँगै शरीरको पनि विकास हुन्छ । जन्मनु अगाडिदेखि जन्म पश्चातका केही वर्षहरुसम्म मानव जीवनको शारीरिक, मानसिक, वौद्धिक आदि इत्यादि विकास भई नै रहेको हुन्छ । यो केही हदसम्म वंशाणुगत भएतापनि विभिन्न वातावरणीय तत्वहरुले यसलाई प्रत्यक्ष रुपमा असर पुर्याइरहेको हुन्छ । शारीरिक विकाससँगसँगै अनुहारको पनि विकास भई नै रहेको हुन्छ र दिन प्रतिदिन यस्ता तत्वहरुले अनुहारको बनावटलाई बदलिइरहेको हुन्छ ।
अनुहारको बनावटमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भनेको मुख बाहिर (ओठ, गाला) र भित्र (जिब्रो)का मांशपेशीहरु हुन् । केही हदसम्म बाहिरी र भित्री मांशपेसीको सन्तुलन मिल्नाले नै एक सन्तुलित अनुहारको आकृति बन्दछ तर कुनै कारणबस यो सन्तुलनमा केही अवरोध सिर्जना भयो भने एउटा गतिबाट बनिरहेको अनुहार फरक तरिकाले बन्दै जान्छ । यही अवरोधको एक कारण भने नकारात्मक बानीहरु पनि पर्दछन् ।
नकारात्मक बानीहरु औला चुस्ने (Thumb suckining/pacifier sucking) (चित्र नं. १), मुखले श्वास फेर्ने (Mouth breathining habit) (चित्र नं. २), थुक निल्दा जिब्रो तलमाथिको ओठको बीचमा रहने (Tongue thrusting habit) (चित्र नं. ३), राति सुत्दा/दिउँसो नै दाँत किट्ने (brurcism) (चित्र नं. ४), नङ/ओठ टोकिरहने (Nail/lip bitiry habit) (चित्र नं. ५) हरु पर्दछन् ।
पछिल्लो तथ्यांकअनुसार करिब ७०—८० प्रतिशत यस्ता बानी बसालेका बालबालिकाहरुमा अनुहारको बनावटमा समस्या देखिएको भनी उल्लेख पारिएको छ । यस्ता नकारात्मक बानीहरुले नै अनुहारको आकृति बिगार्ने प्रमुख कारण भनी तथ्यांकहरुले पुष्टि गरेका छन् । त्यसैले बाल दन्तचिकित्सकहरुले दिन प्रतिदिन यस्ता बानीहर कसरी सहजताका साथ छुटाउन सकिन्छ भनेर अध्ययन गरी नयाँ सजिला उपकरण सिर्जना गरिरहेका हुन्छन् ।
यी बानीहरुमध्येमा पनि प्रायजसो बालबालिकाहरुले औला चुस्न/प्यापसिपाएर चुसिरहने बानी बसालिरहेको पाइन्छ । ३ देखि ४ वर्षका बालबालिकाहरुमा यस्ता बानी देखियो भने त्यसलाई सामान्य रुपमा लिन सकिन्छ तर यो उमेरभन्दा माथिका बालबालिकाहरुमा यस्तो बानी देखियो भने तुरुन्त छुट्याउने विधिहरु अपनाउनु पर्दछ । आम तहमा मुख बन्द गर्दा तलको हड्डी (mandible) माथिको हड्डीभन्दा केही अनुपातमा पछाडिपट्टी रहेको हुन्छ । तर, यदि माथि उल्लेखित बानीहरु बालबालिकामा रहिरह्यो भने त्यो अनुपात भंगभै क्रमसः अुनहारले फरक आकृति सिर्जना गर्दछ ।
यसका साथसाथै अन्य समस्याहरू पनि सिर्जना हुने गर्दछ । मुख्यतयाः समस्याहरु माथिको हड्डी (maxilla), तलको हड्डी (mandible)को सही अनुपातभन्दा धेरैले अगाडि हुनु, माथिका दाँतहरु धेरै मात्रामा अगाडि ढल्किनु, दाँत दाँतबीचमा धेरै ठाउँ आउनु, ओठ बन्द गर्न असहज हुनु वा नमिल्नु, माथिल्लो हड्डी धेरै नै सानो र खुम्चिलो हुनु पर्दछ । यस्ता समस्याहरुले अनुहारको फरक नै प्रकृति सिर्जना गर्दछ ।
माथि उल्लेखित समस्याहरु औला चुस्नेरप्यासिफायर चुसिरहने बानीमा मात्र नभई अरु नकारामत्मक बानीहरुमा पनि देखिने गर्दछ । त्यसैगरी, राति सुत्ने बेला दाँत किट्ने बानी भएका बालबालिकाहरुमा मुख वरिपरीका मांशपेशीहरु बेला बेलामा दुःखी रहने, दाँतको माथिल्लो सत्तह विस्तारै खिइदैं जाने हुन्छ, जसका कारण दाँत सिरिङ्ग सिरिङ्ग हुने, दाँत दुख्ने, मुख खोल्ने जोर्नीहरु दुख्नेजस्ता दीर्घकालीन असरहरु देखा पर्छन् ।
यस्ता बानीहरु गरिरहेको पाइएमा ‘मेरो बच्चाले किन यस्तो बानी बसालेको छ ?’ भनेर पत्ता लगाउनु अभिभावकको प्रथम दायित्व हो । धेरैजसो बालबालिकालाई पटक–पटक यस्तो बानीका बारेमा सचेत बनाइरह्यो भने बालबालिकाले आफै नै यो बानी छोड्ने गर्दछन् र यो नै उपचारको पहिलो कदम हो । पटक–पटक अभिभावक वा शिक्षकले सचेत बनाउँदा पनि बच्चाले बानी छुुटाउन सकेको छैन भने अभिभावकले दन्त चिकित्सकको परामर्श लिन जरुरी देखिन्छ ।
दन्त चिकित्सकको सल्लाहअनुसार विभिन्न बानी छुटाउने उपकरणको सहयोगमा यस्ता नकारात्मक बानीहरु छुटाउने सहज हुने गर्दछ । यस्ता नकारात्मक बानीहरु बेलैमा पत्ता लगाएर उचित उपचार गराइएमा दीर्घकालीन रुपमा अनुहारको बिग्रिएको बनावट छोटो समयमा नै पहिले जस्तै बनाउन सकिन्छ ।
तर, यदि यो बानी रहिरह्यो भने जटिल शल्यक्रियाबाट मात्र मिलाउनुपर्ने हुन्छ । जसका आफ्नै बेफाइदा र जटिलताहरु हुने गर्छन् । अन्त्यमा, प्राकृतिक उपचार कृत्रिम उपचारभन्दा धेरै अगाडि हुन्छ । त्यसैले बेलैमा सहज उपचार गराऔं र शल्यक्रियाबाट बालबालिकालाई बचाऔं ।