Swasthya Awaj
कर्णाली प्रतिष्ठानका कर्मचारीको माग: न्यूनतम् पारिश्रमिक दिनुस्

जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत सफाई कर्मचारीले न्यूनतम् पारिश्रमिक माग गरेका छन्। 

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम संवत् २०८० साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम् पारिश्रमिक १७ हजार तीन सय रुपैयाँ तोके बमोजिम नै पारिश्रमिक नै पाउनु पर्ने माग राखेका हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत सफाई मजदुरले मासिक १४ हजार १५० रुपैयाँ सेवासुविधा पाएपछि श्रम ऐन अनुसार तोकेको न्यूनतम् पारिश्रमिक माग गरेका हुन्।

प्रतिष्ठानमा कार्यरत सरसफाई कर्ता चन्दननाथ नगरपालिका–३ डाँडाकोटकी सरिता कामीका अनुसार राज्यले तोकेको न्यूनतम् पारिश्रमिक पनि पाएकाे छैन।

'काम गर्दै आएको पाँच वर्ष भयो। अहिलेसम्म नियूक्ति पनि दिएको छैन,' उनले भने, '०८० साउनदेखि तीन हजार पाँच सय रुपैयाँ मासिक तलव वृद्धि भएको भन्ने सुनिएको छ। तर त्यो वृद्धि भएको तलब पनि पाएका छैनौँ।'

दैनिक आठ घण्टा श्रम (डियूटि) गर्दै आएका छौँ। स्वास्थ्यदेखि जोखिम बीमा पनि नगरिएको उनको गुनासो छ।

प्रतिष्ठानका प्रशासकिय अधिकृत द्वन्द्वबहादुर शाहीका अनुसार ५६ जना सफाई कर्मचारी र ३८ जना सुरक्षा गार्ड कार्यरत छन्। 

'श्रम ऐन लागु हुनु अघि सार्वजनिक खरिद ऐन अनुसार घटीघटाउ टेण्डरअनुसार सुरक्षा गार्ड र सरसफाई कर्ता आएका हुन्,' उनले भने, 'प्रतिष्ठानले टेण्डर गरेपछि क्रिस सेकुरेटी एण्ड म्यान पावर सप्लायर्स कम्पनी नेपालगञ्जले प्रतिव्यक्ति १० हजार पाँच सय रुपैयाँ मासिक सेवासुविधा दिने गरी सफाई कर्मचारी र सुरक्षा गार्ड भर्ना गरेको हो।'

उनका अनुसार हरेक वर्ष १० प्रतिशत सेवासुविधा वृद्धि हुने गरी कम्पनीसँग सम्झौता भएको थियो। अहिले उनीहरुको पारिश्रमिक १४ हजार १५० रुपैयाँ पुगेको छ।

श्रम ऐन लागू भएदेखि न्यूनतम् पारिश्रमिक नै लागु गर्ने गरी प्रतिष्ठानका पदाधिकारीसँग छलफल भइरहेको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update