Swasthya Awaj
रुपा अस्पताल २५ शैय्यामा स्तरोन्नती हुँदैं, एक महिनामा स्वास्थ्य बीमा सुरु गर्ने सम्झौता

पोखरा: कास्कीको रुपा गाउँपालिकाको अस्पताललाई २५ शैय्यामा स्तरोन्नती गर्ने काम भइरहेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले १५ शैययाको रुपा अस्पताललाई २५ शैय्यामा स्तरोन्नति गर्ने गरी काम भइरहेको जानकारी दिए ।

‘अस्पताललाई २५ शैय्यामा स्तरोन्नती गर्ने काम भइरहेको र संघीय स्वास्थ्य मन्त्रालयबाट कार्यान्वयनको चरणमा रहेको छ,’ अध्यक्ष ओझाले भने । एमबीबीएस डाक्टर २ जना र १८ जना स्वास्थ्यकर्मीले अहिले सेवा दिइरहेको अस्पतालको अधिकांश व्यवस्थापन गाउँपालिकाले गरेको छ ।

रुपा अपस्ताल र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा सुरु गर्ने सम्झौता भएको छ । रुपा गाउँपालिकामा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला र रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

अस्पतालबाट १ महिनामा सेवा सुरु गर्ने गरी काम भएको अध्यक्ष ओझाले जानकारी दिए । गाउँपालिकाले करिब २ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ भने १ हजार २ सय ३० परिवार स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका छन् । गाउँपालिकाले पालिकावासी सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा जोड्ने योजना बनाएको छ ।

कास्कीमा पालिकास्तरीय अस्पतालसँग बोर्डले पहिलो पटक सम्झौता गरेको अध्यक्ष ओझा बताउँछन् । ‘पालिकाले निर्माण गरेको सो अस्पतालमा एक्स–रे, भिडियो एक्स–रे, ल्याबलगायत सेवा निःशुल्क पाउने व्यवस्था मिलाएको भएपनि औषधि किन्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘अब बिमा कार्यक्रमबाट विपन्न परिवारले सहज सेवा लिन पाउनेछन् ।

’अस्पतालमा दैनिक ९० जना हाराहारीमा ओपीडीमा बिरामी आउने गरेका छन् भने अस्पतालले पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । अस्पतालले रिफर गरेका बिरामीलाई ५ सय रुपैयाँमा सेवा दिने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update