Swasthya Awaj
बिदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका स्वास्थ्यकर्मीमाथि मन्त्रालयको निगरानी

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुप्रति निगरानी बढाएको छ। 

मन्त्रालयले स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरुमा पूर्णकालिन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाएको हो। मन्त्राययले गुनासो प्राप्त भए लगत्तै निगरानी बढाएउँदै चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई सार्वजनिक सूचना जारी गर्दै यस्तो कार्य नगर्न अपिल पनि गरेको छ।

मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले हस्ताक्षर गरेको अपिल पत्रमा विदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरुमा पूर्णकालिन रुपमा काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने उल्लेख छ।

'यस मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरु विदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरुमा पूर्णकालिन रुपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,' सचिव बुर्लाकोटीद्वारा हस्ताक्षरीत पत्रमा भनिएको छ, 'यसरी काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने हुँदा यस सम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई संयमीत तथा कानून सम्मत क्रियाकलाप गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ।'

मन्त्रालयले यसबाट पर्न जाने असर प्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने व्यहोरा समेत पत्र मार्फत अनुरोध गरेको छ।

हेरौं पत्र

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update