काठमाण्डौः महिलाहरू किशोरावस्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना योनिबाट रगत बग्छ । यस्तो रगत दुईदेखि सात दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ । महिनामा एकपटक रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो ।
साधारणतया महिनावारी किशोरीहरू १२ देखि १५ वर्ष उमेर पुगेदेखि सुरु हुन्छ; कसैमा आठ वर्षदेखि नै महिनावारीको लक्षण देखिने गर्छ, जुन साधारण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्छ । महिनावारी चक्र महिला ४५ देखि ५५ वर्ष पुगेपछि रोकिन्छ ।
पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने पाठेघरमा निर्माण भएको रगत बिस्तारै योनिमार्ग हुँदै बाहिर निस्कन्छ । यस्तो बेला पाठेघर खुम्चिने र फुक्ने गर्छ र महिलाले दुखाइको महसुस गर्न सक्छन् । महिनावारी हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ, तर सबै महिलामा पेट दुखाइको किसिम सामान्य खालको हुँदैन ।
कसैलाई त्यो पीडा असह्य किसिमको हुन्छ । किशोरीको उमेर बढ्दै जाँदा यो समस्या बिस्तारै हराउँदै जान्छ । कतिपयको विवाहपश्चात् पनि केही हदसम्म दुखाइ कम हुन्छ ।
महिनावारीको समयमा हुने पीडा अर्थात् पेट दुख्ने समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ भनिन्छ । दुखाइको औषधि जथाभाबी प्रयोग गर्दा धेरै नकारात्मक असर देखा पर्न सक्छ, औषधिको सेवन गर्नैपरे चिकित्सकको सल्लाह लिएर मात्रै गर्नुपर्छ ।
महिनावारीको समयमा हुने दुखाइ, जसलाई ‘पिरियड क्राम्प’ पनि भनिन्छ । महिनावारीको केही समयअघि वा महिनावारी भइरहेका बेला महिलाको तल्लो पेट र कम्मरमा दुखाइ हुन थाल्छ । यो एक सामान्य समस्या हो ।
महिनावारीको समयमा हुने पीडा अर्थात् पेट दुख्ने समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ भनिन्छ । यसबाट जोगिनका लागि दुखाइ कम गर्ने औषधीको प्रयोग गर्नेहरू पनि बढेका छन् ।
दुखाइको औषधि जथाभाबी प्रयोग गर्दा धेरै नकारात्मक असर देखा पर्न सक्छ, औषधिको सेवन गर्नैपरे चिकित्सकको सल्लाह लिएर मात्रै गर्नुपर्छ ।
- महिनावारीको दुखाइबाट राहत पाउने उपाय
तातोपानीको सेवन : महिनावारीको समयमा पेट र कम्मरमा कडा दुखाइ हुन सक्छ । तातोपानी निरन्तर पिउँदा पनि यस्तो दुखाइबाट राहत पाउन सकिन्छ । यसले शरीरलाई ‘हाइड्रेटेड’ राख्छ अर्थात् शरीरमा पानीको कमी हुन दिँदैन । तातोपानीको सेवनले पेट दुख्नुका साथै पेट फुल्ने र अपचजस्ता समस्याबाट पनि बच्न सकिन्छ ।
दुग्ध पदार्थ: क्याल्सियमको कमीले पनि महिनावारी हुँदा दुखाइ हुन सक्छ । त्यस्तो अवस्थामा दुग्धजन्य पदार्थ खाँदा क्याल्सियमको पूर्ति भएर दुखाइ कम हुन सक्छ ।
हट ब्यागको प्रयोग : तातोले मांसपेशीलाई आराम गर्न, रक्त प्रवाह सुधार गर्न र तनाव कम गर्न मद्दत गर्छ । हट ब्यागले दुखेको पेटमा सेकाउनुका साथै तातोपानीमा नुहाउने वा तातोपानीमा खुट्टा डुबाएर बस्दा पनि दुखाइ कम हुन सक्छ ।
स्वस्थ खाना : कम बोसो र उच्च फाइबर भएका खाना खानुस् । सलाद, केरा, ड्राई फ्रुट्स, डार्क चकलेट, ग्रिन टी फाइदाजनक हुन्छ ।
यस्तै, भोजनमा फाइबर र प्रोटिनले भरपुर खाद्यवस्तु समावेश गर्न सकिन्छ । आफ्नो आहारमा हरियो सागसब्जी, धेरै फलफूल र सलाद समावेश गर्नुस् ।
पेय पदार्थ : चिसो पेय पदार्थ, जङ्क फुड, चिप्स, मदिरा र धूम्रपानले ‘क्राम्प’ बढाउँछ, त्यसैले यसलाई कम गर्नुस् । तिनीहरूबाट टाढा रहनुस् । यस्तै, चिया–कफी, धूम्रपान र मदिरा सेवनले पनि समस्या बढाउन सक्छ ।
व्यायाम : हल्का व्यायामले सामान्यतः सबैलाई राम्रो गर्छ । यद्यपि खासखास समस्यामा चिकित्सकको सल्लाह लिएर हल्का व्यायाम, योग वा फिजियोथेरापीमार्फत दुखाइबाट राहत पाउन सकिन्छ ।
पर्याप्त निद्रा : पर्याप्त निद्राले तनाव कम गर्नुका साथै आराम दिन्छ । साथै दुखाइ पनि कम हुन सक्छ ।
यस्तै, पेटको तल्लो भाग र ढाडमा हल्का मालिस गर्दा पनि दुखाइ कम हुन्छ ।
महिनावारीको समयमा हल्का असुविधा हुनु सामान्य हो र चिन्ता गर्नुपर्दैन । यद्यपि दुखाइ वा अन्य कारण तपाईंको दैनिक गतिविधि खलबलिएको छ भने यसको कारण बुझ्न र उपचार गर्न स्त्रीरोग विशेषज्ञलाई भेट्नैपर्छ ।