Swasthya Awaj
कर्णाली प्रदेश अस्पतालमा महिला मृत्यु प्रकरण : घटनालाई राजनीतिकरण नगर्न निर्देशक डा खड्काको आग्रह

काठमाडौं– कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएपछि मृतकका परिवार शव नै नबुझी घर फर्किएपछि अस्पताल परिसर तनावग्रस्त हुन पुगेको छ। 

दैलेखको आठबिसकोट नगरपालिका निवासी रिजुका गुरुङ पाठेघरको समस्याको उपचारका लागि अस्पताल पुगेकी थिइन्।  ४ महिना अगाडि मात्रै सुत्केरी भएकी उनको पाठेघरमा सालको केही अंश बाँकी रहेकोले सफा गर्नुपर्ने चिकित्सकको सल्लाह बमोजिम उनी अस्पताल भर्ना भइन्। 

उपचारका क्रममा महिलालाई ग्राहो हुँदै गएपछि चिकित्सकले कृत्रिम रुपमा अक्सिजन दिए । अक्सिजन लगाउँदा समेत  सास फेर्न गाह्रो भएकी ती महिलाको मुखबाट पानी बग्न गइ मृत्यु भएको भयो। 

के भन्छन्– कर्णाली प्रदेश अस्पतालका निर्देशक डम्मर खड्का? 

उपचारका लागि आएकी उक्त महिलामा मोलार प्रेग्नेन्सी भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा  डम्बर खड्का बताउँछन्।

यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभइ सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षण बिना नै जोसुकै महिलाहरुमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौं मध्ये १ महिलामा यस प्रकारको समस्या हुने डा खड्काको तर्क छ। 

मोलार प्रेग्नेन्सी एक प्रकारको सालको ट्युमर भएकोले यसलाई सफा गर्नुपर्ने उनको भनाइ छ। संसारका जुनसुकै मुलुकमा पनि यस प्रकारको दुर्लभ समस्याको उपचार सम्भव नभएको डा खड्काको दाबी छ। 

जोसुकै गर्भवती महिला पनि यस प्रकारको मोलार प्रेग्नेन्सीको जोखिममा हुने डा खड्का बताउँछन्। महिलाहरुले नर्मल बच्चा जन्माउँदैमा मात्रै यस प्रकारको समस्या मुक्त रहन्छन् भन्न सकिँदैन। 

गत भदौमा मात्रै यस अस्पतालमा नै शल्यक्रियामार्फत् बच्चा निकालिसकेको अवस्थामा महिलामा यस्तै समस्या देखिएर मृत्यु समेत भएको थियो । 
यस प्रकारको घटना नेपालमा मात्रै नभई विश्वका जुनसुकै देशका ठूला अस्पतालमा पनि घट्ने गर्छन्। 

उपचारमा संलग्न चिकित्सकलाई बर्खास्त गर्नुपर्ने आफन्तको माग 
मृत्तकका आफन्तले भने उक्त घटनामा अस्पतालको लापरवाही भएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई बर्खास्तीसँगै क्षतिपूर्तिको माग समेत गरेको छ । 
हिँडेर सामान्य रुपमा अस्पताल आएको बिरामीको मृत्यु हुनु अस्वभाविक भएको भन्दै बिरामीका आफन्तले विभिन्न माग दाबी सहित उनीहरुले अस्पतालका विरुद्व चरणबद्व आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेका छन्। 

आमाको मृत्यु पश्चात् नाबालकको बिजोग भएको भन्दै उक्त बालकको लालनपालन तथा शिक्षाको व्यवस्था समेत अस्पतालले गर्नुपर्ने भन्दै उनीहरु आन्दोलित छन्। 

घटनालाई राजनीतिकरण नगर्न आग्रह 
बिरामीका आफन्तलाई समस्याका बारेमा वैज्ञानिक हिसाबले बुझाउन खोजेपनि उनीहरुले बुझ्न नसकेको डा खड्का बताउँछन्। 

चिकित्सकले लापरवाही गरेका वा नगरेको भन्ने विषय पोस्मार्टमको रिपोर्टपश्चात् मात्रै यकिन हुनेमा आफू विश्वस्त गरेको डा खड्का बताउँछन्। 

बिरामी मृत्युको घटनालाई राजनीतिक विषय नबनाई पोस्टमार्टम रिपोर्टका आधारमा अगाडि बढ्नका लागि बिरामीका आफन्तलाई डा खड्काले आग्रह गरेका छन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update