Swasthya Awaj
बाल अस्पतालका लागि डा कोइरालाले लिए बियर कम्पनीबाट २५ लाख सहयोग

काठमाण्डौः बाल अस्पतालका लागि नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा  भगवान कोइरालाले बियर कम्पनीबाट २५ लाख सहयोग लिएका छन् । अर्ना बियर उत्पादन गर्ने कम्पनी यति ब्रुअरीबाट डा कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि २५ लाख आर्थिक सहयोग लिएका हुन् ।

यसका बारेमा अर्ना बियरले आफनो फेसबुक पेज तथा यती ब्रअरीले आफनो वेभसाइटमा समेत सामाजिक उत्तरदायित्व अन्तर्गत डा कोइरालाले बनाउन लागेको बाल अस्पताललाई २५ लाख सहयोग दिन पाएकोमा खुशी व्यक्त गर्दै उक्त पोष्ट सार्वजनिक गरेको छ । सार्वजनिक पद धारण गरिसकेका कोइराला जस्ता धेरैले रोल मोडल समेत मान्ने आफै सरकारी ओहदामा हुँदा आफै संलग्न भएर बनाएका कानूनको खिल्ली उडाउँदै यसरी रक्सी कम्पनीबाट सहयोग लिनु कत्तिको जायज होला ?

यसअघि बाल अस्पताल निर्माणकै लागि डा कोइरालाले कानून विपरित सूर्य टोबाकोबाट ५ करोड सहयोग लिन तयार भएका थिए । हस्तान्तरण कार्यक्रम अघि मिडिया मार्फत उनको धेरै विरोध भएपछि उक्त हस्तान्तरण कार्यक्रममा गएर उनले रकम नलिई फर्केका थिए ।

उक्त सहयोग डा कोइराला आफै उपस्थित भएर लिएका छन् । मदिराजन्य पदार्थ उत्पादन गर्ने कम्पनीबाट उनीहरुको लोगोमूनि बसेर आर्थिक सहयोग लिनु एक हिसाबको विज्ञापन सरह नै मानिएन र ? डा कोइरालाप्रति कानून भन्दा पहिले  नैतिक प्रश्न पक्कै उठेको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ (१)मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update