
काठमाण्डौँः देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर उद्योग, कलकारखाना स्थापना लगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ ।
पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार यहाँ आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन् । लगानी बोर्डको ५८ औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजना बारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ । सम्मेलनामा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना समावेश गरिएका छन् ।
स्वास्थ्य क्षेत्रका २ वटा परियोजना प्रस्तुत हुनेछन जसमा रियोजनामा गौतमबुद्ध प्रसूति अस्पताल र धुलिखेल मेडिसिटी परियोजना रहेका छन्। अन्य अस्पतालमा प्रसूति तथा स्त्रीरोग, बालारोग, आइभीएफ, कार्डियोलोजी, न्युरोलोजी, पल्मानोलोजी, अर्थोपेडिक्स, युरोलोजी, प्याथोलोजी, रेनल साइन्सेज, साइकोथेरापी, इमर्जेन्सी ट्रमा सेन्टर रहने बताइएको छ।
अत्याधुनिक उपचार सेवा हुने अस्पतालमा ल्याब, ब्लड बैंक, डायग्नोष्टिक सेवा हुनेछन्। सँगै एउटा अपार्टमेन्ट र गेस्ट हाउसको परिकल्पना गरिएको छ । जहाँ लामो समय उपचार सेवामा रहनुपर्ने आमा र बच्चाका साथै उनीहरुका आफन्त बस्ने व्यवस्था हुनेछ। यसैगरी धुलिखेल मेडिसिटी अस्पतालका लागि यसअघि नै ७ करोड ४० लाख डलरको प्रस्ताव गरिएको थियो। यसपल्ट पनि त्यही दोहोरिनेछ।
बोर्डका अनुसार यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकास क्षेत्रका छ वटा परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएको छ ।