Swasthya Awaj
वैशाख १६ गते देखि ७ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने

काठमाडौँः सरकारले आज वैशाख १६ गते देखि ७ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने थालेको छ ।  हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइले विरुद्धको औषधि सबैलाई खुवाउने गरी अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

hatti-paile-rog-1714145646.jpeg
 

यस अघि ती सात जिल्लामा अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यस पटक करिब ६ हजार स्वास्थ्यकर्मी र ५ हजार ८ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् । 

बिभागले ७ जिल्लाका १ सय १ स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन थालेको र दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने जानकारी दिएकोछ । गर्भवती र सात दिन सम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने बिभागले जनाएको छ ।  

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने हुन्छ । 

हात्तीपाइले रोगको धेरैजस्तो सङ्क्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुन आम औषधि सेवन गर्न जरुरी छ । 

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदाय स्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताए  । उनका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update