
भक्तपुरः भक्तपुर अस्पतालले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । पुरानो भवन निकै साँघुरो भएपछि चार तले नयाँ भवनको अण्डरग्राउण्डमा पार्किङ र पानी शुद्धिकरण प्लान्ट सञ्चालनमा ल्याएको अस्पताल श्रोतले जनाएको छ ।
शल्यक्रिया सहितको अत्याधुनिक प्रसूति वार्ड, १७ शय्याको भेन्टिलेटर सहितको आइसियू, (सघन उपचार कक्ष), तीन मोडुलर शल्यक्रिया कक्ष लगायतका सेवा सञ्चालनमा ल्याइएको हो ।
दैनिक ८ सय भन्दा बढी बिरामीलाई सेवा दिँदै आएको अस्पतालले भवन अभावका कारण प्रशासन र ओपिडी सेवा भने पुरानै भवनबाट सञ्चालन गरिरहेको अस्पतालले जानकारी दिएको छ ।
भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले स्तरवृद्धि गर्दै तीन सय शय्यामा विस्तार गर्ने घोषणा गरे सँगै नयाँ थप शय्या सञ्चालनको समेत तयारी गरेर नयाँ भवनमा सेवा विस्तार गरेको निर्देशक डा गौतमले जानकारी दिइन्।
अस्पतालले अब भक्तपुरका बिरामीलाई यहीँ बाट मुटु रोग र नशा रोग सम्बन्धी उपचार सहितको सेवा दिन न्यूरो तथा मुटु रोगको उपचार सेवा विस्तार गर्ने तयारी गरेको छ । यसै आर्थिक वर्षभित्र प्रदेश सरकारको सहयोगमा ५ शय्याको डायलोसिस सेवा समेत अस्पतालले सुरु गर्न लागिएको निर्देशक डा. गौतमले जानकारी दिइन्।