काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि आगामी वैशाख ३१ गते ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने जानकारी दिएको छ ।
१५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ । सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ ।
नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्णमात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप र ४ प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । केही जिल्लामा खोप लगाउन छुटेका बच्चाको सङ्ख्या बढ्दै गई दादुरा, रुवेलाको महामारी समेत देखा परेकोले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई पनि खोप केन्द्रसम्म जाने ब्यबस्थाका लागि सहयोग गर्न अनुरोध समेत गरेको छ ।