Swasthya Awaj
बाँके जिल्लामा पोलियो र डिपिटीको खोप अभावः १३ हजार बालबालिका खोपबाट वञ्चित ।

बाँकेः स्वास्थ्य कार्यालय बाँकेमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोग विरुद्ध लगाइने पोलियो र डिपिटी खोपको अभाव भएको छ ।नियमितरुपमा प्रत्येक महिना लगाउनु पर्ने ती खोप जिल्लाका स्वास्थ्य चौकीहरूमा नपुग्दा बालबालिकाहरू खोप लगाउनबाट वञ्चित भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चेन निरीक्षक जनकराज गिरीका अनुसार कार्यालयमा विगत केही समय देखि पोलियो र डिपिटीको खोप नभएको बताएका छन । उनले गत माघ महिनादेखि नै जिल्लामा माग अनुसार खोप परिपूर्ति गर्न नसकिएको बताएकाछन । बालबालिकाहरूले खोपको मात्रा नपाएको तथा खोप अभाव भएको भनेर पटक पटक प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा माग गरेको समेत बताएका छन ।

“गत माघदेखि नै हामीसँग पोलियो र डिपिटी खोपको अभाव छ, स्वास्थ्य चौकीहरूबाट माग भए अनुसार नियमित परिपूर्ति गर्न सकेका छैनौँ, खोप आपूर्ति गर्ने निकाय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पटक पटक माग गरेका छौँ, तर पनि खोप आएको छैन, बालबालिकाहरूले नियमित खोपको मात्रा पाउन सकेका छैनन्” निरीक्षक गिरीले बताए ।

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न १३ वटा रोग विरुद्ध नियमित रुपमा ९ किसिमको खोप लगाउनुपर्ने उनको भनाई छ । बाँकेमा उक्त खोप लगाउनुपर्ने बालबालिकाको सङ्ख्या १३ हजारको हाराहारीमा रहेको गिरीले बताए । जिल्लामा पोलियो र डिपिटीको खोप नहुँदा नियमितरुपमा खोप प्राप्त गर्नुपर्ने १३ हजार बालबालिका उक्त सेवाबाट वञ्चित छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update