Swasthya Awaj
चिकित्सा शिक्षा आयोगमा रिक्त निर्देशक पद नियुक्ती प्रक्रियामा पाँच महिना देखि विवादमै

काठमाडौँः विगत पाँच महिना अघि निर्देशक नाम छनौट समितिको निर्णयलाई चुनौती दिदै निर्देशक पदका एक जना आवेदकले उच्च अदालत पाटनमा रिट दायर गरेपछि सुरु भएको विवादले छनौट प्रक्रिया लम्बिएको हो । आयोगमा गत ४ मंसिर देखि मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक पद खाली रहेको छ ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । समितिको सदस्यहरुमा प्र.डा रमेशकान्त अधिकारी र प्रा.डा बुद्धिबहादुर थापा रहेका छन् । समितिले त्यसबेला १९ मंसिर भित्र निर्देशकका लागि नाम सिफारिस गरि सक्ने भन्दै ५ मंसिर देखि काम थालेको थियो ।

समितिले गत ५ मंसिरमा एक साताको अवधी तोकेर सूचना प्रकाशित गर्दा २० जनाले आवेदन दिएका थिए । तर गत १७ मंसिरमा समितिले १२ जनालाई मात्रै सटलिस्टको सूची प्रकाशित गरेको थियो ।उक्त सूचीमा असहमति जनाएका एक जना आवेदकले समितिबाट थप काम अघि नबढोस भन्दै रिट दायर गरेका थिए ।

उनको रिटको प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतले २१ मंसिरमा समितिलाई काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि भने मुद्धाले प्राथमिकता नै पाएन । ‘अन्तरिम आदेशपछि तीन पटक जस्तो पेशी तारेख भयो त्यसपछि अस्ति १८ बैशाखमा पेशी तारेख थियो तर सरकारी वकिलका तर्फबाट स्थगित भयो । अब २ जेठलाई तोकिएको छ,’ रिट दायरकर्ता चिकित्सकले भने ।

‘कहिले जवाफ नपुगेको, कहिले को अनुपस्थित भएको, कहिले कुन पक्षको तर्फबाट स्थगित गर्न माग भएको आदि कुराहरुले मुद्धा लम्बिदै गएको छ । बढो झन्झट पो हुँदो रहेछ,’ उनले निराशा व्यक्त गर्दै थपे । उनले २ जेठमा पनि मुद्धा पेशीमा चडछ कि स्थगित हुन्छ भर नभएको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update