-1714821494-1714835632.jpeg)
काठमाण्डौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सम्बन्धित निकायहरुलाई विद्ययुतीय चुरोट आयात, उत्पादन तथा बिक्रि वितरण गर्न नपाइने र सार्वजनिक यातायातमा उपभोग र संचार माध्ययमबाट प्रबर्द्धन तथा बिज्ञापन गर्न समेत नपाउने कानुनी ब्यबस्था अनुरुप पत्राचार गरेको हो ।
सञ्चार, अर्थ र उद्योग मन्त्रालयका साथै भन्सार विभाग र उद्योग विभागलाई गरिएको पत्राचारमा विद्ययुतीय चुरोट आयत, विक्री–वितरण तथा प्रयोग नगर्न भन्दै पत्राचार गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा निर्देशिका २०७१ मा भएको व्यवस्था स्मरण गराइएको छ ।
उक्त निर्देशिकाको परिच्छेद ३ को दफा २८ को उपदफा ३ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाउने छैन’ भन्ने व्यवस्था रहेको जानकारी दिइएको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट निर्णय भइआएकाले विद्युतीय चुरोको निषेध कार्य कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।
सरकारले यस अघि नै विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउन खोजेको भएपनि निजी संस्थाले मुद्दा दायर गरेका कारण नसकिएको बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले बताएका थिए।
केसीका अनुसार गत वर्ष मात्रै ३२ लाख २३ हजार ६८७ थान इलेक्ट्रोनिक सिगरेटको डिभाइस नेपाल भित्रिएको छ । ती डिभाइसहरु ९९ प्रतिशत चीनबाट र अरु अमेरिका, बेलायत, युनाइटेड अरब इमिरेट्स सहित नौ वटा देशबाट आयात भएको छ ।
केसीका अनुसार नेपालमा वार्षिक ३२ अर्ब बराबरको विद्युतीय व्यापार हुने गरेको छ । बजारमा १० हजारदेखि १३ हजारसम्म विक्री हुँदै आएको छ ।
विश्व स्वास्थ्य संगठनले इ.सिगरेट पनि मानव स्वास्थ्यको लागि घातक पदार्थ हो भन्दै चुरोट, गुडखा जस्तै असरदार सूर्तीजन्य पदार्थ हो भनेको छ । तर, यसका उत्पादक तथा व्यापारीहरुले यो स्वास्थ्यका लागि कम हानिकारक हुन्छ भन्दै भ्रम छर्ने गरेका छन् । सोही भ्रममा परी नेपाली युवा इलेक्ट्रोनिक सिगरेट तर्फ आकर्षित हुन थालेका छन् ।
सुर्ती नियन्त्रण सम्वन्धी अभियानमा क्रियाशिल संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानून भएर पनि कार्यान्वयन हुन नसक्नु नेपालका लागि दुर्भाग्य भएको बताए । उनले ढिलै भए पनि केन्द्रले यसबारेमा सरोकारवाला पक्षको ध्यानाकर्षण गराएकोमा भने खुशी व्यक्त गरे ।
खासमा कुलत तथा दुर्व्यसनमा जानेहरुका लागि ई सिगरेट सजिलो माध्यम बनेको छ भन्दै यसमा नेपाल सरकार साथै सम्वन्धित मन्त्रालय तथा विभागहरु विशेष चनाखो बन्नु पर्ने बताए । उनले नागरिक समाज र सञ्चारकर्मीले यसबारेमा तथ सतर्कता देखाउनु पर्ने समेत जानकारी दिए ।