
काठमाडौँः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले स्थापनाको २२ बर्ष पछि प्रथम स्थापना दिवस आज मनाउने भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेतले न्याम्सले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान र उपलब्धिको स्मरण गर्दै शैक्षिक दायरा बिस्तार गर्न स्थापना दिवस मनाउन लागेको जानकारी दिएका छन । न्याम्स चिकित्सक उत्पादन गर्ने सबैभन्दा ठूलो संस्था बनेको उनको भनाइ छ ।
उपकुलपति बस्नेतका अनुसार न्याम्सबाट वार्षिक १५ सय भन्दा बढी एमडी/एमएस, १ सय २० भन्दा बढी डीएम/एमसिएच चिकित्सक, १ हजार ४ सय नर्स गरी ३ हजार दुई सय ४६ जना दक्ष जनशक्ति उत्पादन हुने गरेका छन ।
“न्याम्सले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धिमूलक योगदान गरेको छ । त्यसैले यस पटक स्मारिका समेत प्रकाशन गर्दैछौँ”, उपकुलपति बस्नेतले भने, “अहिले जिल्ला अस्पताल देखि केन्द्रका सरकारी तथा निजी ठूला अस्पतालमा धेरै वर्चस्व न्याम्सबाट उत्पादन भएका एमडी/एमएस गरेका विशेषज्ञ चिकित्सकहरू छन् ।”
उपचारात्मक सेवामा न्याम्सको योगदानको चर्चा गर्दै अझै विशिष्टकृत विषयमा अध्यापन गराउने योजना रहेको उनको भनाइ छ । उनले आगामी शैक्षिक शत्रमा एम.बि.बी.एस कार्यक्रम सुरु गर्ने तयारी बारे जानकारी दिए ।
चिकित्सा शिक्षामा स्नातक र स्नातकोत्तर बीचको खाडल कम गर्न न्याम्स लागि परेको उनको भनाइ छ । उनले एमडी/एमएस कार्यक्रम भरतपुर, विराटनगर र भेरीमा अध्यापनका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।
न्याम्समा विशेषज्ञ चिकित्सक एमडी/एमएस १९ विषयमा र डीएम/एमसीएचका १५ विषयमा अध्यापन हुँदै आएको छ । “यहाँ जति धेरै विशेषज्ञ चिकित्सक उत्पादन हुन्छन्, त्यति नै देशभरका अस्पतालमा चिकित्सक सहज रूपमा उपलब्ध हुन्छ”, उनले भने, “एमडीएमएस गरेर पिजी नपाएका चिकित्सकहरू धेरै हुनुहुन्छ । हामीलाई देशमा विशेषज्ञ चिकित्सकको कमी छ । तर त्यही विशेषज्ञ चिकित्सक बनाउन त्यत्ति सजिलो छैन । अध्यापनको जटिल कुरा हो तर न्याम्सले पूरा गर्दै आएको छ ।”
स्थापना दिवस मनाउने सन्दर्भमा उनले न्याम्स र वीरलाई छुट्याउने, न्याम्सले छुट्टै अस्पताल स्थापना गर्ने विषयले विशेषज्ञ चिकित्सक अध्यापनमा प्रभाव पर्न सक्ने बताएका छन ।
“अहिले छुट्याउने र जोड्ने कुरा आइरहेको छ, तर मेरो विचारमा छुट्याउन हुँदैन । न्याम्सको योगदान महत्त्वपूर्ण छ । सबै सरकारी स्वास्थ्य संस्थामा चिकित्सक पुर्याउने, तालिम दिने राम्रो काम भएको छ । यदि आफ्नो अस्पताल नै नहुने हो भने तालिमको नै वैधानिकता हुँदैन, मान्यता हुँदैन”, उनले भने ।
बस्नेतले स्वास्थ्य प्रतिष्ठानलाई पढाउनका लागि आफ्नै एउटा अस्पताल आवश्यक पर्ने भन्दै भक्तपुरको दुवाकोटमा अहिले जग्गा प्राप्ति भएको बताए । “अहिले नै न्याम्सबाट वीर अस्पताल छुट्याउँदा डिग्रीकै मान्यता र वैधानिकतामा प्रभाव पर्छ, विद्यार्थीको भविष्यमा समेत असर पर्न सक्छ”
दुवाकोटमा बन्ने अस्पताल तीन चरणमा विभाजन गरिएको र प्रथम, दोस्रो र तेस्रो चरणमा ५/५ सय गरी जम्मा १५ सय शय्या बनाउने प्रस्ताव अघि बढाएको उनको भनाइ छ । चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ न्याम्सको स्थापना भएको हो ।
विसं २०५९ मा सरकारले अध्यादेश जारी गरी वीर अस्पताललाई न्याम्समा स्तरोन्नति गरेको थियो । प्रतिष्ठानका रूपमा कार्यरत वीर अस्पताललाई २०६३ सालमा सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रम (एमडी/एमएस) साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।