काठमाण्डौः काउन्सिलको गत बैशाख १३ मा बसेको पूर्ण बैठकले कोभिड समयमा अनलाइन मार्फत विदेशी मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुका विषयमा दर्ता प्रमाणपत्र (लाइसेन्स) दिने कि नदिने भन्ने विषयमा नयाँ निर्णय गरेको हो ।
काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार स्नातक (एम.बी.बी.एस तथा बी.डी.एस) तहको विषयमा गत २३ डिसेम्बर २०२३ मा काउन्सिलले जारी गरेको सूचना अनुसार नै ६ महिना अनलाइन कोर्षलाई मान्यता दिने निर्णय गरेको छ ।
तर, कोभिड अवधीभर अनलाइन कक्षा लिई कोर्ष सम्पन्न गरेर सम्वन्धीत कलेजबाट प्रमाणपत्र समेत लिएर आएका विद्यार्थीरुलाई फेब्रअरी २०२० देखि डिसेम्बर २०२२ सम्म जति समय अनलाइन कक्षा लिएको हो उक्त समयमा नेपालको स्विकृति प्राप्त १०० बेड वा सो भन्दा बढी बेड भएका अस्पतालमा अध्ययन वा तालीम गरेपछि लाइसेन्स दिईने निर्णय भएको छ भने वेसिक साइन्स कोर्षको हकमा अनलाइन गरे मात्र पुग्ने निर्णय गरिएको छ ।
नेपालमा कोभिड कालमा चीन, बंगलादेश, फिलिपिन्स लगायतका थुप्रै देशका मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययनका लागि भर्ना भएका नेपाली विद्यार्थीहरुले अनलाइन कक्षा मार्फत पढ्नु पर्ने बाध्यतामा थिए । यो निर्णय संगै कोभिड कालमा विदेशी कलेजमा भर्ना भएका तर अनलाइन कक्षा लिएका थुप्रै नेपाली विद्यार्थीहरुलाई राहत पुगेको छ ।