
काठमाण्डौः बागमती प्रदेशमा चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा ११ हजार भन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउन देखि हालसम्म ११ हजार ४ सय ९ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैभन्दा बढी धादिङमा ३ हजार ५ सय १ र सबैभन्दा कम रसुवामा २ जना नयाँ डेङ्गु सङ्क्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । उनका अनुसार यस अवधिमा काठमाडौँमा ३ हजार, चितवनमा १ हजार ७ सय ८, मकवानपुरमा ८ सय ५७, भक्तपुरमा ४ सय ९४, काभ्रेपलाञ्चोकमा १ सय ६७, नुवाकोटमा ८१, दोलखामा ७९, रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२ र सिन्धुलीमा २३ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेका छन् ।
डेङ्गु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा १ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । गर्मी मौसम सुरु भएसँगै डेङ्गु सङ्क्रमित अझै बढ्न सक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै प्रदेशभर लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको स्वास्थ्य निर्देशानलयले जानकारी दिएको छ । साथै बिज्ञहरुले जनचेतनाका कार्यक्रमहरु अगाडी बढाउनु पर्ने सुझाव समेत दिएका छन