Swasthya Awaj
स्वास्थ्य मन्त्रालयद्धारा सरकारी बिदा लिएर निजी स्वास्थ्य संस्था तथा गैर सरकारी संस्थामा कामहरुलाई कारबाहीको चेतावनी

काठमाण्डौः सरकारी बिदा लिएर निजी स्वास्थ्य संस्था तथा गैर सरकारी संस्थामा कामहरुलाई कारबाहीको चेतावनी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रचलीत कानुन बमोजिम हदैसम्म कारबाही हुने भन्दै निर्देशन जारी गरेको छ ।  

स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फको सचिवको जिम्मेवारीमा आएका मधुसुदन बुर्लाकोटीले आज दोस्रोपटक सूचना निकाली यस बारेमा जानकारी गराएका छन् । साथै कोही कसैबाट त्यस्तो प्रकारको कार्य भए गरेको देखेमा मन्त्रालयमा जानकारी गराउन समेत अनुरोध गरिएको छ । 

'सरकारी सेवामा बिदा लिइ निजी स्वास्थ्य संस्थाहरु तथा गैरसरकारी संस्थाहरूमा कार्य गर्ने र केहीले विदेशमा समेत गई कार्य गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रवाह नगरी गैर जिम्मेवारी पूर्ण कार्य गरेकोले प्रचलित कानून बमोजिम हदैसम्मको कारवाही गरी स्वीकृत गरेको बिदा रद्द गरिदिनको लागि विभिन्न निकाय तथा सेवाग्राहीबाट गुनासो प्राप्त भएकोले यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ'

प्रतिष्ठानहरु, विभागहरु, अस्पतालहरु र केन्द्रहरु सबैलाई सम्वोधन गरी जारी गरिएको निर्देशनात्मक सूचनामा मन्त्रालय अन्तर्गतका कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले अध्ययन, असाधारण, घर विदा, विरामी विदा, भैपरी आउने र पर्व विदा जस्ता विदा लिएर बाहिर काम गरेको गुनासो प्राप्त भएको उल्लेख गरेका छन् ।

उनले स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधिनमा हुने र विदा अधिकारको कुरा होइन सहुलियत मात्रै हो भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गरेका छन् ।

पत्रमा जुन उदेश्यका लागि विदा लिइएको सोही प्रयोजनमा उपयोग गर्नु पर्ने हुन्छ भन्दै एउटा विदा लिएर अर्को काम गरेको भेटिए विदा रद्ध गरी कार्वाही हुने चेतावनी दिएका छन् ।

सचिव बुर्लाकोटीले स्वदेशी तथा विदेशी निजी स्वास्थ्य संस्थाहरुले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले त्यस्तो कार्य गरेको देखिएमा मन्त्रालयमा तथा सम्वन्धित निकायमा जानकारी गराउन समेत आम सर्वसाधारणसंग अनुरोध गरेका छन् ।

सचिव बुर्लाकोटीले यस अघि पनि यस्तै प्रकारको सूचना जारी गरेका थिए । 
यस अधिको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस । 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update