जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पहिलो पटक आयोजित प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्न भएको छ । अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा सञ्चालित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन समापन पश्चात ‘जुम्ला घोषणापत्र’ जारी गरेको प्रतिष्ठानका शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीले बताएका छन ।
सम्मेलनले विशेषगरी मुलुकमा विशाल समस्याका रुपमा देखिएको सामुदायिक मानसिक स्वास्थ्यको अन्तराल र समस्याको पहिचान गरी त्यसको सम्बोधन तथा मानसिक रोग विशेषज्ञ र सेवाको उपलब्धता लागि नवप्रवर्तन र सहकार्य आवश्यक भएको निष्कर्ष निकाल्दै नौ बुँदे जुम्ला घोषणापत्र जारी गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिए ।
नेपालमै पहिलो पटक जुम्लामा वैशाख २२ गते ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ नारासहित शनिबार सम्मेलन सुरु भएको थियो । दुई दिनसम्म सञ्चालित सम्मेलनमा मानसिक रोग सम्बन्धी करिब ५० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको कर्णाली जस्तो दुर्गम क्षेत्रमा अझै मानसिक स्वास्थ्यको आवश्यक चेतना पुग्न नसकेकोले मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान व्यापक रुपमा विस्तार गर्नु पर्नेमा जोड दिँदै सम्मेलनले जुम्ला घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा नेपालमा सामुदायिक मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरूले समुदायमा विद्यमान सेवाहरूलाई सुदृढ गर्न र नेपालमा सबैको लागि मानसिक स्वास्थ्यको एजेन्डामा योगदान पुर्याउन सहकार्य गर्ने उल्लेख गरिएको छ ।
सम्मेलनका साझेदार संस्थाहरूले कर्णाली प्रदेशका सबैका लागि मानसिक स्वास्थ्य प्राप्त गर्न केएचएसको मनोचिकित्सा विभाग, प्रादेशिक अस्पताल र प्रादेशिकरस्थानीय सरकारहरूलाई काम गर्ने अवसर खोज्ने जनाइएको छ ।
समापनका क्रममा अमेरिका स्थित हार्वर्ड युनिभर्सिटीका सहायक प्राध्यापक डाक्टर श्रीधर पौडेलले कर्णाली क्षेत्रको मानसिक स्वास्थ्यमा रहेको समस्या समाधानको लागि काम गरिने बताउनुभयो । उहाँका अनुसार सम्मेलन आगामी वर्ष पनि सम्मेलन सञ्चालन गरिनेछ । आगामी वर्षमा प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गरिने पौडेलको भनाइ छ ।