काठमाण्डौः चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका छन् । विभिन्न माग राख्दै पटक–पटक अनशन बस्दै आएका डा.गोविन्द केसीले शनिबारबाट फेरि अनशन सुरु गरेका हुन।
डा.केसीले २२औँ अनशन बस्दै उनले अघिल्ला अनशनमा उठाउने साझा विषयहरु उठाए पनि हाल मुख्य माग भनेको द्वन्द्व कालका मुद्दा उठाएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को राजिनामा समेत माग गरेका छन ।
उनले आफ्ना मागको पहिलो नम्बर बुँदामै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा उल्लेख गरेका छन्। “सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्।”
उनले आफूसँग भएका यस अघिका सम्झौता अनुरूप गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालनमा ल्याउन, मधेश, गण्डकी प्रदेशका साथै इलाम, उदयपुर र डडेलधुरामा मेडिकल कलेजर प्रतिष्ठान तुरुन्त निर्माण शुरू गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरुन्त पारित गर्नुपर्ने माग पनि अगाडि सारेका छन्। त्यस्तै, गौरीबहादुर कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिलाई कारबाही गर्न पनि माग गरेका छन्।