
काठमाण्डौः काठमाण्डौको नक्सालका लागि मात्र निसन्तान दम्पत्तीको उपचार गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको वात्सल्य नेचुरल आईभीएफले कानुनविपरित धमाधम शाखा विस्तार गरिरहेको फेला परेको छ।
आईभीएफ सेन्टरले शाखा विस्तार गर्न नपाउने कानुनी ब्यबस्था हुँदा हुँदै कानुनको बेबास्था गरी धमाधम शाखा बिस्तार गरि रहेको बात्सल्यले स्वास्थ्य सेवा नियमावली अनुसार आईभीएफ सेवा सञ्चाल गर्न मन्त्रालयबाट अनिवार्य लिनु पर्ने इजाजत लिए पनि शाखा बिस्तार गर्नु गैर कानुनी भएको बिज्ञहरु बताउँछन ।
वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा आइतबार चितवन शाखा उद्घाटन गर्दै कानुनलाई चुनौती दिई चितवनमा नयाँ शाखा विस्तार गरेको सार्वजनिक गरेको छ।
आईभीएफ सेवा सञ्चालनको स्वीकृति दिने र नियमन गर्ने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्याय वात्सल्यले यसरी शाखा विस्तार गर्न नमिल्ने बताउँछन्। 'कानुन अनुसार आईभीएफ सेन्टरले शाखा विस्तार गर्न पाउँदैनन्,' उनले भने, 'अहिले वात्सल्यले जहाँ जहाँ शाखा विस्तार गरेको भनिएको छ। कानुन अनुसार त्यो काम गर्न मिल्दैन।'
उनले हालको कानुन अनुसार वात्सल्यले शाखा विस्तार गरेको विषयमा कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए। 'मौजुदा कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं,' डा. उपाध्यायले भने।
वात्सलस्यले भने अहिले चितवनमा र यसअघि भकत्पुरमा शाखा विस्तार गरिसकेको छ। वात्सल्यका कार्यकारी निर्देशक सुवेदी भने कानुनलाई चुनौती दिँदै निकट भविष्यमै बुटवल, पोखरा, बिराटनगर जस्ता स्थानमा पनि सेवा विस्तार गर्ने योजना रहेको बताउँछन्।