Swasthya Awaj
काठमाडौँ विश्वविद्यालयले संचालन गरेको एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन परीक्षा लिँदै

काठमाण्डौः काठमाण्डौ विश्वविद्यालय (केयु)ले संचालन गरेको एमबीबीएसका दुई बिषयको प्रश्नपत्र परीक्षा अगाबै बाहिरिए पछि परीक्षा नियन्त्रण कार्यालयले दुईवटा विषयको पुर्नपरीक्षा लिने भएको छ । आइतबार सूचना जारी गर्दै गत मे ५ र १० मा संचालन भएका दुई विषयको पुनः परीक्षा लिनु पर्ने भन्दै नयाँ तालिका सार्वजनिक गरेको छ ।

नयाँ तालिकामा फाइनल एमबीबीएसको मेडिसिन एण्ड एलाइड (डर्माटोलोजी) १ को आगामी १६ मे कादिन विहान १० देखि दिउसो १ बजेसम्म र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको पनि १६ मे दिउसो २ देखि २ः३० बजेसम्म लिने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।

केयु स्कुल अफ मेडिसिनका डीन प्रा.डा.मनोज हुमागाईँले यी दुई विषयका परीक्षाको प्रश्नपत्र बाहिरिएको परीक्षा समितिले ठहर गरेपछि पुनः परीक्षा लिने निर्णय गरेको बताए ।

‘यी सुरुकै परीक्षा थिए, परीक्षामा प्रश्न पत्र आउट भएको भन्ने हल्ला चल्यो । हामीले तत्कालै यत्तिकै रद्ध गर्न पनि मिलेन । परीक्षा समिति बस्यो र ट्याली गर्दा हल्लामा केही सत्यता पनि देखियो र पहिलेको परीक्षा रद्ध गरी पुन लिने निर्णय भयो,’ उनले भने ।

डीन प्रा.डा. हुमागाईँले त्यस पछिका विषयमा दोस्रो सेटबाट सञ्चालन गरिएको समेत सुनाए । ‘परीक्षामा पहिलो सेटमा समस्या भएको हल्ला चलेपछि हामीले बाँकी परीक्षा अर्को सेटबाट लियौँ तर सुरुकै केही विषय भने पुन परीक्षा लिने निर्णयमा पुग्यौँ,’ उनले भने ।

प्रश्नपत्र आउट हुँदै गर्दा ठूलो रकम चलखेल भएको हल्ला समेत चलेको थियो । प्रा.डा.हुमागाईँले प्रश्नपत्र आउट भएको विषय काभ्रे प्रहरीले छानवीन गरिरहेको भन्दै सबै सत्यतथ्य प्रहरीले सार्वजनिक गर्ने विश्वास व्यक्त गरे ।

केयूको बिश्वसनियतामा नै प्रश्नचिन्ह आउने गरि प्रश्नपत्र आउटका सन्दर्भमा छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउनु पर्नेमा सर्वसाधारणले पनि जोड दिएका छन । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update