Swasthya Awaj
गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन अलपत्र, निर्माण सम्पन्न भई सक्दा पनि सेवा सुचारु हुन सकेन

गुल्मीः गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन अलपत्र अवस्थामा छ। निर्माण व्यवसायीले गत असारमा भवन निर्माणको काम सम्पन्न गरेपनि अस्पताल भवन निर्माण गरेको रकम निर्माण व्यवसायीले नपाउँदा भवन प्रयोगमा आउन सकेको छैन । 

साढे पाँच तलको भवन निर्माणको काम रङ्गरोगन गरेर चिटिक्क पारिएको छ । भवन २०७८ साल असार २५ गते सम्झौता भई २०८० असारमा तोकिएकै मितिमा निर्माण व्यवसायीले सम्पन्न गरेको थिए । १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँको लागतमा अर्जुन बिल्र्डस प्रा.लि तम्घासले भवन निर्माण गरेको हो । निर्माण व्यवसायीले २ करोड ७ लाख रकम अझै पाएका छैनन् । जसले गर्दा अस्पताल भवन अहिले ताल्चा मारेर राखिएको छ ।

निर्माण सम्पन्न भएको भवनको एक वर्षसम्म सञ्चालनमा नआउँदा केही ठाउँमा भत्किन र घाँसले घेर्न थालेको छ । भवनको रकम निकासा गर्नका लागि पालिकाबाट पटक पटक जानकारी गराउने काम भइरहेको गुल्मी दरबार गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको भवन निमार्ण भई सक्दा पनि सेवा दिन नपाउँदा सेवा प्रदायक र सेवाग्राही दुबैलाई मर्का परेको छ । हाल संचालन भएको अस्पतालबाट सेवा दिन प्रयाप्त ठाउँ नभएको र सेवा बिस्तारमा पनि कठिनाई भई रहेको अस्पतालले जनाएको छ । 

नेपाल सरकारले २०७७ साल मङ्सिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । तर नेपाल सरकारले हाल देशै भरी निमार्ण भई रहेका अस्पतालहरुको शिल्लान्यास गरे पनि बजेट ब्यबस्थापनमा ध्यान दिएको छैन । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update