Swasthya Awaj
सरुवा भएर आएका सचिवलाई मन्त्रालयमा हाजिर नगराएपछि कारण माग्यो सर्बोच्चले

काठमाण्डौः सरुवा भई आएका डा. प्रवीण श्रेष्ठलाई हाजिर गर्न दिन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका नाममा सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

एघारौँ तहका डा. श्रेष्ठलाई यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बागमती प्रदेशको स्वास्थ्य सचिवको रुपमा सरुवा गरेको थियो । तर, त्यहाँका सचिव बद्रीबहादुर खड्काले सामान्यको निर्णय कार्यान्वयन नगर्न भन्दै सर्बोच्चमा रिट दायर गर्दै आफ्नो पक्षमा अन्तरिम आदेश लिन सफल भएका थिए ।

आफू सचिव कायम रहेको अवस्थामा सचिवका रुपमा सरुवा भएका डा. श्रेष्ठलाई हाजिर गर्न नमिल्ने भन्दै फर्काइ दिएका थिए ।डा. श्रेष्ठले हाजिर गर्न पाउँ भन्दै गत मंगलबार स्वास्थ्य मन्त्रालय बागमती प्रदेश र स्वास्थ्य सचिव बद्रीबहादुर खड्कालाई विपक्षी बनाई सर्बोच्चमा रिट दायर गरेका थिए ।

बुधबार  उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्बोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले डा श्रेष्ठलाई हाजिर गर्न दिन मन्त्रालय र सचिवको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै हाजिर गर्न किन नदिएको भन्दै प्रदेश मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

‘सरुवा भएर गएको थिएँ, त्यहाँ हारिज हुन नै पाएँन । त्यसपछि हाजिर हुन पाउँ भनेर रिट दायर गरेको थिएँ । सर्बोच्चले हाजिर हुन दिनु भनेको छ,’ डा श्रेष्ठले भने ।

उनले सर्बोच्चको अन्तरिम आदेश हाजिर हुन दिने विषयमा मात्रै बोलेको र सचिव पदमा विषयमा नबोलेको बताए ।

‘उताबाट पनि अन्तरिम आदेश लिएर सो पदमा बसेको अवस्था छ । त्यसैले अहिले मैले सचिवको रुपमा हाजिर गर्ने भनिएको होईन । मात्रै हाजिर गर्न पाउँ भनेको हो । त्यो आदेश भएको छ,’ डा. श्रेष्ठले भने ।यस विषयमा सचिव खड्कासंग कुरा गर्ने प्रयास भने सफल हुन सकेन ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update