
ललितपुरः जवलाखेल स्थित अल्का अस्पतालले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गरिरहेको तथ्य फेल परेको छ।
जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनिवार्य रुपमा इजाजत लिएर मात्र आईभीएफ सेवा सञ्चालन गर्न पाइन्छ। तर अल्का अस्पतालले भने मन्त्रालयबाट स्वीकृति नै नपाई धमाधम आईभीएफ सेवा भन्दै महँगो शुल्क लिइरहेको पाइएको छ।
स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका अनुसार अल्का अस्पतालले २०७८ फागुन २९ गते स्वीकृतिका लागि मन्त्रालयमा निवेदन दिएको थियो। मन्त्रालयले गरेको अनुगमनका क्रममा मापदण्ड पूरा नभएपछि स्वीकृति भने पाएको छैन। अल्काको आईभीएफ सेवा अन्तर्गत जनशक्ति, ल्याब तथा अन्य पूर्वाधारको गुणस्तरका विषयमा समेत प्रश्न उठाउने प्रशस्त ठाउँ रहेको मन्त्रालयका कर्मचारी बताउँछन्। तर अल्काले मन्त्रालयलाई समेत अटेर गर्दै आईभीएफ सेवा सञ्चालन गरिरहेको छ।
जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार अनुमति नलिइ आईभीएफ सेवा सञ्चालन गर्नु गैरकानूनी मानिन्छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्यायले कुनै पनि आईभीएफ सेन्टरले मन्त्रालयको स्वीकृति नलिई सेवा सुरु गर्न नहुने बताए।
उनले त्यस्तो पाइएमा मन्त्रालयले कानुन अनुसार कारबाही गर्ने जानकारी दिए। उनले आईभीएफ सेवा सञ्चालनका लागि इजाजत पूर्व गुणस्तर सुनिश्चित गरेर मात्रै सञ्चालन अनुमति दिइने बताए। प्रमुख डा मदन उपाध्यायका अनुसार देशै भरी संचालनमा रहेका सेन्टरको अनुमगन गरि अबैध रुपमा संचालनमा रहेका सबैलाई कारबाही गरिने पनि बताएका छन ।
यो पनि पढ्नुहोसः वात्सल्य नेचुरल आईभीएफले कानुन विपरित धमाधम शाखा विस्तार गर्दै, कारबाहीको तयारीमा स्वास्थ्य मन्त्रालय