
सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा करिब साढे ५६ बालबालिकाले खोप लगाएका छन् ।
फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन भएको अभियानमा ५६ लाख ४३ हजार ९१२ बालबालिकाले खोप लगाएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।
५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाउने लक्ष्य थियो । लक्ष्यअनुसार ९६ प्रतिशतले खोप लगाएको डा.गौतमले जानकारी दिनुभयो।
जाजरकोट र रुकुम पश्चिमबाहेक देशका ७५ जिल्लामा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो ।
भूकम्पबाट प्रभावित रहेका यी जिल्लामा यसअघि नै खोप अभियान सञ्चालन गरिसकिएको थियो ।
खप अभियानमा देशभर ४८ हजार ७९८ खोप केन्द्रमा ४९ हजार ९३७ स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयंसेवक खटिएका थिए ।
भारतसँग सीमा जोडिएका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप दिइएको थियो । ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खोप दिइएको थियो ।