Swasthya Awaj
भारत लैजाँदै गरेको पौने ३ करोड बराबरको विद्युतीय चुरोट बरामद

हेटौडा: मकवानपुर प्रहरीले ठूलो मात्रमा अवैध विद्युतीय चुरोट अर्थात भेप बरामद गरेको छ। बिहीबार बेलुका हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा अवैध भेप बरामद गरिएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट दिल्लीतर्फ जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रु बसमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त सामग्री बरामद गरिएको हो । 

बरामद गरिएको  ५८ कार्टुन भेप तथा भेपका फ्लेवरहरू गरी २ करोड ७१ लाख २१ हजार ७८० मूल्य बराबरको रहेको प्रहरीलेले जानकारी दिएका छन्।

प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ ३७ वर्षीय सलाम मोक्तान र सहचालक उदयपुर कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना रहेका छन् । 

त्यसैगरी नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ का ३९ वर्षीय इन्द्र बहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका–१६ का २९ वर्षीय राज कुमार हिमाङ पनि पक्राउ परेका छन् । 

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको पनि प्रहरीले जानकारी दिएका छन् । 

प्रहरीले दिएको जानकारी अनुसार बसमा भारतीय यात्रुहरु सवार थिए । उनीहरुलाई ओरालेर प्रहरीले खानतलासी गरेको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक सीताराम रिजाल समेतको कमाण्डमा संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बसमा खानतलासी लिएको थियो । सामान तस्करीकै लागि उक्त बसले यात्रु ल्याउने लाने गरिरहेको प्रहरीको दावी छ । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update