Swasthya Awaj
स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै प्रसूतिगृह अस्पताल

काठमाडौँ: थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ । अस्पतालले आगामी ३० साउनका दिन यो प्रतिस्पर्धा गर्न लागेको हो । तर,  प्रतिस्पर्धामा भाग लिने शिशुहरु प्रसूतिगृह अस्पतालमै जन्मेको हुनु पर्नेछ ।

अस्पतालले एक वर्ष भित्रका शिशुहरुलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने बताएको छ । जन्मेदेखि ४५ दिन, ४६ दिन देखि ६ महिनासम्म र ६ महिना १ दिन देखि १ वर्षसम्मका शिशुहरुबीच छुट्टा छुट्टै प्रतिस्पर्धा हुने बताइएको छ । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले शिशुहरुको पोषण, शारीरिक तथा मानसिक विकास क्रम लगायतका स्वस्थ मानिने इन्डिकेटरहरुको जाँच गरिने बताए ।

‘आम अभिभावकलाई शिशुहरु विकास क्रम कस्तो हुनु पर्छ ? कुन उमेरमा कति तौल हुनुपर्छ । शारीरिक साथै मानसिक विकास कस्तो हुनुपर्छ भनेर बुझाउन पनि यो कार्यक्रमको आयोजना गरिएको हो,’उनले भने । अस्पतालले प्रतिस्पर्धामा छानिएका शिशुहरुलाई आगमी १० भदौमा हुने ६० औँ बार्षिकोत्सवका दिन पुरस्कृत गर्ने जनाएको छ ।प्रतिस्पर्धा गराउन ईच्छुक अभिभावकले १०० रुपैयाँको फारम भर्न पर्ने त्यो फारम आज देखि १ महिनासम्म भर्न सकिने अस्पतालले जनाएको छ ।  अस्पतालले यस्तो प्रतिस्पर्धा हरेक वर्ष गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update