
काठमाडौंः डेंगु रोगको सङ्क्रमण हाल सम्म देशको ७३ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण प्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार ४ सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको जानकारी दिए।
मन्त्रालयले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने बताएको हुँदा यसमा सबै सजक हुन बिज्ञहहरुले सुझाव दिएका छन ।
मन्त्रालय अनुसार हाल सम्म सबभन्दा बढी काठमाडौँ जिल्लामा १ सय ५९ जनामा डेंगुको संक्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ। रोग शाखाका प्रमुख डा दाहालले डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरे।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले जनाएको छ।