सुर्खेत: प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनलाई समेत अवज्ञा गरेको पाइएको छ । सरकारले छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कर्णाली खटाउँदा उनले फिर्ता पठाएका छन् ।
कर्णाली जस्तो दुर्गम क्षेत्रका नागरिकले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा पाउन भन्ने मूल उद्देश्यका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर कर्णालीमा विशेषज्ञ चिकित्सक पठाएको थियो । तर, डा खड्काले आवश्यक नभएको भन्दै फिर्ता पठाएका छन् ।
सरकारले पछिल्लो समय दन्त र आँखाको सेवा सरकारी अस्पतालमा पनि विस्तार गर्ने उद्देश्यका साथ छात्रवृत्ति करारका चिकित्सकलाई सरकारी अस्पतालमा केन्द्रित गरेको छ । छात्रवृत्तिको चिकित्सक नै फिर्ता पठाएपछि कर्णाली प्रदेशमा विशेषज्ञ चिकित्सक पठाउने नपठाउने भन्नेमा मन्त्रालय दोधारमा परेको देखिन्छ ।