Swasthya Awaj
कांग्रेस–एमालेमा मन्त्रालयको भागबन्डा मिल्यो

काठमाण्डौः नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा टुङ्गिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको छलफलपछि मन्त्रालय भागबन्डा टुङ्ग्याइएको बताइएको छ ।

दुवै दलका नेताहरुका अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेका छन् । जसअनुसार कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय परेका छन् ।  

त्यस्तै वन तथा वातावरण मन्त्रालय पनि कांग्रेसको भागमा परेको बुझिएको छ ।नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ। गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ।

एमालेको भागमा भने  अर्थसहित भौतिक पूर्वाधार तथा यातायात,सञ्चार तथा सूचना प्रविधि र शिक्षा मन्त्रालय परेका छन् ।त्यसबाहेक शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एमालेको भागमा परेको छ। बाँकी चार मन्त्रालय भने साना दलका लागि छुट्याइएको छ । साना दल जसपा, जसपा नेपाल,लोसपा, जनतम सरकारमा जाने तयारीमा छन्।  

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update