काठमाडौँ: शुभ कार्यमा होस् या कार्यप्रारम्भ गर्दा शुभकामनासंगै खादा र माला लगाइदिने नेपाली समाजमा प्रचलन नै छ । तर सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भई रामशाह पथस्थित मन्त्रालयमा कार्यभार सम्हाल्न आएका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको गलामा भने न खादा थियो न त माला नै ।
यस अघि नयाँ मन्त्रीहरु यसरी पदवहाली गर्न आउँदा फुलमाला, खादा र बुके सहित बस्ने मन्त्रालयका उच्च अधिकारीहरु आज भने मन्त्रालय परिसरमा खाली हात नै लाइन लागेर स्वागतमा बसेका थिए ।
‘मन्त्री ज्यूकै निर्देशन हो रे, त्यसैले हामी खाली बस्यौँ,’ स्वागतका लागि लाइन बसेका मन्त्रालयका एक उच्च अधिकारीले भने ।
हुन पनि मन्त्रीले पदवहालीका बेलासम्म न खाँदा लिए न माला नै लगाए, बुके बोकेर शुभकामना दिन पुगेकाहरुलाई पनि मन्त्रीका टिमले बुके लिएर नभेटन भनिरहेका थिए ।
‘खासमा यो खादा माला अहिले लगाउनु पर्ने आवश्यकता होइन । अनावश्यक खर्च हो । हामी मितव्ययी बन्न जरुरी छ । स सानो कुराबाट हामीले सुधार गर्न थाल्नु पर्छ । त्यसैले मैले मलाई भेटन खादा, माला तथा बुके बोकेर नआउनु भनेको हुँ,’ मन्त्री पौडेलले भने ।
उनको कुरा सुनेपछि भने कतिपयले मन्त्रीको शैली शैलीलाई अनुसरणयोग्य भन्दै प्रशंसा गरेका थिए ।
स्थानीय तहको निर्वाचनमा विजयी भएपछि पदवहालीका बेला यस्तै कार्य काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि गरेका थिए । उनले पनि फुलमाला र खादाले सम्मान लिने गरी काम भइनसकेको भन्दै आफ्नो लक्ष्य पुरा भएपछि मात्रै फुल माला खादा लिने बताएका थिए ।
स्वास्थ्य मन्त्री पौडेललाई कतिपयले बालेनको यहि सिको गरेको हो भनेर समेत टिप्पणी गरेका छन् ।