काठमाडौं: नव नियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयमा आफू उत्साहका साथ आएको भन्दै आफ्नो उत्साहलाई साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् । पदवहाली पछि कर्मचारीसंग परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।मन्त्री पौडेलले भने, ‘देशमा सबै तिर निरासा छ, केही गरेको सन्देश छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबैसँग सहकार्य गरेर अघि बढ्छु।’
‘नेपाल सरकारको मन्त्रालय मध्येमा विधि र पद्धति सिकाउने मन्त्रालयमा आएको छु, यहाँ राजनीतिक लिगेसी पनि देखिदैन, स्वास्थ्य मन्त्रालयलाई कसरी राम्रो गर्ने त्यतातर्फ म लाग्छु,मन्त्रालय सुधार्न के गर्न सकिन्छ भन्नुहोला, सुटुक्क भन्नुहोला, आफ्नो बुद्धि बिबेक, अनुभव र क्षमताका आधारमा भन्नुहोला। यहाँ ठुला कुरा गर्न समस्या होला, तर सानासाना काम गर्छु, नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने कसरी बनाउन सकिन्छ त्यता तर्फ लाग्छु, सबैको क्यापासिटी लगाउँ, म निर्देशन दिने तिर होइन मिलेर काम गर्ने तिर लाग्छु, साझा उद्देश्य पूरा गर्ने तिर आफ्नो जिम्मेवारी सम्झेर सबै लागौं। मलाई सिकाउनु होला सिकाउनुहोला।’ छलफल कार्यक्रममा उनले भने ।
सो क्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगती गर्नेमा आफू ढुक्क रहेको र त्यसका लागी मन्त्रालयका सिंगो कर्मचारीले साथ दिने प्रतिवद्धता जनाए ।