काठमाडौं: नवनियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदाभार ग्रहण गरेकै दिन आफ्ना लम्बेतान योजना सुनाउनुभएको छ । पहिलो पटक मन्त्री पदमा नियुक्त हुनुभएका पौडेलले स्वास्थ्य क्षेत्रको कायापलट गर्ने भन्दै महत्कांक्षी योजना समेत सुनाउनुभयो ।
स्वास्थ्य क्षेत्रमा सुधारको महसुस हुने गरी काम गर्ने, एक महिनाभित्र संघीय सरकार महातहका अस्पतालमा लाइन बस्नु नपर्ने अवस्था बनाउने बाचा पनि मन्त्री पौडेलले गर्नुभयो । सबै नेपालीलाई स्वास्थ्य बीमामा समेट्ने, उपकरण, पूर्वाधार र जनशक्तिको नमिलेको अवस्थालाई मिलाउने पनि उहाँले बताउनुभयो ।
तत्कालीन देखि दीर्घकालीन सम्मका योजना बनाउने कुरा पनि मन्त्री पौडेलले सुनाउनुभयो । तत्काल कर्मचारी सरुवामा आफ्नो चासो नभएको दावी उहाँको छ।
पद सम्हाल्ने वित्तिकै मन्त्री पौडेलले दिनुभएको पहिलो अभिव्यक्तिको सम्पादित अंश तल प्रस्तुत छ:
म कुरा गर्ने भन्दा काम गर्ने ठाउँमा आएको छु । यहाँ बसेर म काम गर्ने कोसिस गर्नेछु । भर्खर आएको म पहिलो पटक मन्त्री भएको स्वास्थ्य क्षेत्रको प्राविधिक र सैद्धान्तिक पक्षका बारेमा धेरै जानकारी नहोला ।
यहाँ काम गरिसक्नुभएको र यहाँका लागि राय , सुझाव दिन सक्ने विज्ञसँग परामर्श गरेर तत्कालीन र दीर्घकालीन खालको कार्यक्रम हामीले ल्याउने छौँ । तत्कालीन कार्यक्रम हामी तत्काल सुरु गर्नेछौँ । दीर्घकालीन कार्यक्रमका लागि पनि आवश्यक रणनीति बनाएर अघि बढ्नेछौँ ।
मन्त्रालयले तत्काल के गर्छ ? दीर्घकालीन रुपमा १ महिनामा के गर्छ ? ३ महिनाभित्र के गर्छ ? ६ महिनाभित्र गर्छ, १ वर्षभित्र के गर्छ ? त्यो सबै कार्यक्रम अबको एक हप्ताभित्र तय गर्छौैँ ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरू समाधानका निम्ति मन्त्रालयका सम्पूर्ण कर्मचारी मित्रहरु, विभिन्न तरिकाबाट यो मन्त्रालयमा जोडिनु भएका गैरसरकारी क्षेत्रका महानुभावहरू र विज्ञ सबैसँग राय लिएर तत्कालीन र दीर्घकालीन कार्यक्रम घोषणा गरिने छ ।
क्यान्सर रोगबाट धेरै नागरिक पीडित भएको पाइन्छ । रोग लागेका नागरिकलाई सुविधा दिने कुरा आफैँमा जरुरी विषय हो । त्यो सँगसँगै अर्काे जरुरी विषय भनेको रोग लाग्नै नदिने, स्वास्थ नागरिक उत्पादन गर्ने पनि हो ।
मन्त्रालयले बीमा सम्बन्धि काम पनि सुरु गरिसकको छ । त्यसलाई अघि बढाउने, व्यवस्थित बनाउने पनि काम गर्नेछौँ । सबै नेपालीका बीचमा लिएर जाने, सबै नेपालीलाई बीमाभित्र समेट्ने गरी मन्त्रालयले कार्यक्रमहरू व्यवस्थित ढंगबाट ल्याउने छ। यी लगायत स्वास्थ्य क्षेत्रसँग जोडिएका विषयमा योजना ल्याएर हामीले स्वास्थ्य क्षेत्र सुधार भएको महसुस गराउनेछौँ।
एक महिनाभित्र संघीय सरकार भित्रका अस्पतालमा लाइन लाग्न नपर्ने गरी व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउनेछौँ । धेरै ठूला कामहरू कति गर्न सक्छौँ थाहा छैन तर साना-साना कामहरू गरेर देखाउनेछौँ । राज्यले जुन लगानी गरेको छ, त्यस अनुसार आवश्यक प्रतिफल देखाउन सकिरहेका छैनौँ, लगानीको पूर्णप्रतिफल दिने स्थिति निर्माण गर्ने कोसिस हामी गर्नेछौँ ।
रोग लाग्न नदिन जनचेतना कसरी बिस्तार गर्न सकिन्छ ? सबैभन्दा पहिला त्यस विषयमा काम गर्नेछौँ ।
क्यान्सर रोगीको उपचारका लागि देशभर एकरुपता कायम गर्नेछौँ । उपचार सेवा प्रदान गर्नका लागि विशेष कार्यक्रम ल्याउने छौँ । आज हामीले यो निर्णय गर्नेछौँ।
यो भन्दा अगाडि एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम घोषणा भएको छ । कहीँ पूर्वाधार छ जनशक्ति छैन, कहीँ उपकरण छ, पूर्वाधार छैन । कहीँ उपकरण र पूर्वाधार दुवै कुरा छ, जनशक्ति छैन त्यसैले कहाँ के आवश्यकता छ, त्यसलाई हेरेर एकीकृत विकास कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडि बढाउनेछौँ ।
स्वास्थ्यमा लगानी बढाउने र यसको क्षेत्र बिस्तार गर्ने कोसिस गर्नेछौँ । आम नागरिकलाई राज्यले स्वास्थ्य सेवा उपलब्ध गराउने विशेष पहल गरेको अनुभूति गराउन हामीले काम गर्नेछौँ । प्रदेशसँग र स्थानीय तहसँग समन्वय गरेर, उहाँहरुको लगानी र संघीय सरकारको लागनी मिसाएर आम नागरिकलाई एकीकृत ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी काम गर्नेछौँ ।
स्वास्थ्य प्रशासनसँग मिलेर, स्वास्थ्य विज्ञसँग मिलेर अबको सात वर्षपछि नेपालको स्वास्थ्य क्षेत्र कस्तो हुन्छ भन्ने रणनीति यात्रा हामी तय गर्नेछौँ ।
चुनावी घोषणा पत्रका सबै बाचाहरु हेर्नेछु । त्यो अनुसारका योजनाहरु पनि बनाउने छौँ ।
मन्त्रालयमा सबै सँगसँगै मिलेर काम गर्नेछौँ । यहाँ पहिले देखि काम गर्नुभएका महानुभाव हुनुहुन्छ । उहाँहरुसँगै मिलेर नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने, कांग्रेसले प्रतिवद्धता जनाएका कुरालाई कार्यान्वयनमा ल्याउने र आजका आवश्यकतालाई पूरा गर्नका निम्ति समग्र मन्त्रालय नै मिलेर काम गर्छौँ ।
कर्मचारीको फेरबदल गर्ने मेरो प्राथमिकतामा छैन । सबैले काम गर्ने वातावरण पाउनुपर्छ । मन्त्रालयको देशको काम गर्ने हो त्यसमा कुनै व्यक्तिको काम गर्ने होइन। मन्त्रालयको काम पूरा गर्नका लागि एक्लै सम्भव छैन । सबै कर्मचारी साथीहरुले साथ दिनुपर्छ । त्यसैले यो कर्मचारी अदल–बदल गर्ने, सरुवा गर्ने, कसैलाई निरुत्साहित गर्ने काखापाखा गर्ने काम हुँदैन । व्यवस्थित ढंगबाट काम अगाडी बढाउनका निम्ति हामी सबैले मिलेर काम गर्छौँ।