Swasthya Awaj
काठमाडौं उपत्यकाका घरघर पुगेर पोलियो खोप खुवाइँदै

काठमाडौं: सरकारले विशेष पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा चार दिन विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा डा. गौतमले साउन ९ देखि १२ गतेसम्म पोलियो विरुद्धको विशेष अभियान सञ्चालन गर्न लागिएको बताए । टुकुचा र बागमतीको दोभानमा पोलियोको भाइरस पाइएपछि उपत्यकाका तीन जिल्लामा रहेका पाँच वर्षमुनिका बालबालिकालाई खोप खुवाउन लागिएको हो । उक्त उमेर समूहका बालबालिका बढी जोखिममा हुने भएकाले उनीहरूलाई खोप दिन लागिएको हो ।

‘टुकुचा र बागमतीको संगममा रहेको ढलको नमुना परीक्षण गर्दा पोलियोको व्यूत्पत्ति भएको भाइरस पाइयो’, डा. गौतमले भने, ‘जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरघरमा गएर खोप दिने विशेष अभियान गर्दैछौँ ।’ खोप स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत खुवाउन लागिएको हो । अभियानमा पहिले खाएका पाँच वर्ष मुनिका सबै बालबालिकालाई दुई थोपा खोप खुवाइने डा. गौतमले जानकारी दिए ।

डा. गौतमले छोटो समयमा आफूहरूले अभियान सञ्चालन गर्न लागेको बताए । ‘यो नयाँ आर्थिक वर्षको सुरुवात पनि हो । खर्च भुक्तानी हुने अवस्था पनि छैन’, उनले भने, ‘हामीले जसोतसो व्यवस्थापन गरेर छोटो अवधिमा अभियान सञ्चालन गर्न लागेका हौँ ।’

यस अभियानमा २ लाख ७९ हजार ६८० जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको डा. गौतमले बताए ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update