Swasthya Awaj
नारायणी अस्पतालमा ३० करोडको एमआरआई मेसिन थन्कियो

बीरगंज: बीरगञ्जको नारायणी अस्पतालमा चीनबाट झण्डै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिन सञ्चालन भएको ५ महिना नबित्दै सेवा बन्द हुँदा सेवाग्राही प्रभावित भएका छन् ।

सरकारी अस्पतालको एमआरआई मेसिन ३ महिनादेखि बन्द हुँदा बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पतालमा पुगी एमआरआई सेवा लिन बाध्य भएका छन् ।

नारायणी अस्पतालले एमआरआई मेसिनको भुक्तानीको विषयलाई लिएर अस्पताल प्रशासन र आपुर्तिकर्ता बिचको विवादका कारण एमआरआई सेवा ३ महिना देखि बन्द भएको अस्पतालका चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिमार्फत चीनबाट ३० करोड रुपैयाँमा खरिद गरी ल्याएको थ्रीटेस्ला कम्पनीको एमआरआई मेसिन अस्पतालमा जडान गरि गत कार्तिक महिनादेखि सञ्चालनमा ल्याइएको थियो ।

तर मेसिनको बाँकी २० प्रतिशत रकम अस्पतालले आपूर्तिकर्ता कम्पनी हेल्थ केयर प्रालिलाई भुक्तानी नगरेपछि मेसिन उत्पादक चिनियाँ कम्पनीले मेसिनको सफ्टवेयर अपडेट (अद्यावधिक) नदिएकाले मेसिन गत वैशाखदेखि बन्द हुन पुगेको हो ।

त्यसअघि पनि उक्त एमआरआई मेसिन आपूर्तिकर्ता कम्पनीले २०७९ चैतमै चीनबाट खरिद गरेर ल्याए पनि बजारमा हिलियम ग्याँस नपाइएको भन्दै अस्पतालमा जडान नगरिदिँदा ८ महिनासम्म त्यसै थन्क्याएर राख्नुपरेको थियो ।

गत गत असोज २३ मा तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले एमआरआई मेसिनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन गरिएको तीन हप्तापछि मात्रै गत कात्तिक १४ गतेदेखि नारायणी अस्पतालमा एमआरआई सेवा सुरु गरिएको थियो । तर सेवा सुरु भएको ५ महिना पनि नबित्दै मेसिनको बाँकी रकम भुक्तानीको विषयमा आपूर्तिकर्ता कम्पनी र अस्पताल प्रशासनबीचको विवादले गत वैशाखदेखि मेसिन बन्द हुन पुगेको हो । जसको मारमा अस्पतालमा उपचारका लागि आउने बिरामी परेका छन् ।

नारायणी अस्पतालको एमआरआई सेवा ३ महिनादेखि अवरुद्ध हुँदा बिरामीहरू बजारका निजी अस्पतालमा दोब्बर शुल्क तिरेर एमआरआई सेवा लिन बाध्य भएका छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा उपलब्ध एमआरआई सेवाका लागि बिरामीले निजी अस्पतालमा १५ देखि १६ हजार रुपैयाँ तिरिरहेका छन् ।
नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर एनामुल हकले भने आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिको बदमासीका कारण एमआरआई सेवा तीन महिनादेखि बन्द हुन पुगेको बताउनुभयो ।

आपूर्तिकर्ता कम्पनीले मेसिनको सफ्टवेयर अपडेट नगरिदिएका कारण गत वैशाखदेखि नै मेसिन बन्द रहेको हकले जानकारी दिनुभयो ।

नारायणी अस्पतालले खरिदकर्तालाई तिर्न बाँकी रहेको २० प्रतिशत रकम दिन तयार भए पनि उसले नेपाल सरकारलाई मेसिन खरिद बापतको ५ प्रतिशत कर नबुझाउँदा समस्या भएको मेडिकल सुपरिटेन्डेन्ट हकले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update