Swasthya Awaj
टेकु अस्पतालबाट भागेका युवकमा पनि देखियो हैजा, थप २ जनामा पुष्टि

ललितपुर: ललितपुरको गोदावरीमा रहेको सुधारगृहबाट आएका अर्का २ जनामा पनि हैजा पुष्टि भएको छ । यसअघि गोदावरी नगरपालिका–१४ ठैबमा रहेको सुधार गृहमा रहेका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको थियो । ती किशोरको त शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ । 

किशोरलाई गत शुक्रबार नै अस्पताल ल्याइएको थियो । उनमा हैजा रहेको पुष्टि सोमबार रिपोर्ट आएपछि भएको थियो । 

त्यही सुधारगृहमा रहेका थप ३ जनालाई हैजासँग मिल्दो लक्षण देखिएपछि सोमबार राति टेकु अस्पताल ल्याइएको थियो । भर्ना भइसकेपछि २ जना बिरामी शौचालय गएका बेला भागेका थिए । भने एकजनालाई थप उपचार आवश्यक भएर पाटन अस्पताल रिफर गरिएको थियो ।

तीनै जनाको आरडीटी परीक्षणमा हैजा देखिएपछि थप परीक्षणका लागि नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उक्त नमुनाको आज रिपोर्ट आएको टेकु अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले जानकारी दिए। 

डा.बसौलाका अनुसार अस्पतालबाट भागेको एक २१ वर्षीय र पाटन अस्पताल रिफर गरिएका ५० वर्षीय बिरामीमा हैजा रहेको पुष्टि भएको छ । यो सँगै हैजा पुष्टि हुनेको संख्या ३ पुगेको छ । 

डा.बसौलाका अनुसार भागेका युवक अहिलेसम्म फेला परेका छैनन् । अस्पतालमा उपचारत १६ वर्षीय किशोरको स्वास्थ्य अवस्था सुधार आएको र डिस्चार्जको तयारी भइरहेको पनि बसौलाले बताए । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update