Swasthya Awaj
९ बुँदे निर्देशनको कार्यान्वयनको अवस्थाबारे जानकारी लिए स्वास्थ्य मन्त्री पौडेलले

काठमाडौंः सबै संघीय अस्पतालका प्रमुखहरुसँग शुक्रबार वेविनार मार्फत बैठक बस्दै स्वास्थ्य मन्त्री पौडेलले आफूले दिएको ९ बुँदै निर्देशनको कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका हुन्। अस्पताल प्रमुखहरु काममा व्यस्त हुने भएकाले वेविनार मार्फत बैठक गरिएको मन्त्री पौडेलले जानकारी दिएका छन्।

‘सेवा प्रवाह गर्न भएका प्रयास के के भए?’ मन्त्री पौडेलले बैठकमा सहभागि अस्पताल प्रमुखहरुलाई प्रश्न गरे, ‘निर्णय बमोजिम नागरिकलाई सहज तरिकाले सेवा प्रवाहका लागि कुनकुन विषय कार्यान्वयन गर्नु भयो, तपाईंहरूका कार्यक्रम के के छन्? ९ बुँदे बाहेक सेवा प्रवाह सहज बनाउन केके विषयमा सेवा थप गर्नु भयो? जानकारी गराइदिनु होला।’

अस्पतालका प्रमखुहरुले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरेको, केही अस्पतालमा विस्तारित सेवा लागू गरेको, चिकित्सकको राउन्ड, बिरामी भर्ना, डिस्चार्जमा समय व्यवस्थापन गरि सहजीकरण सुरु गरेको मन्त्री पौडेललाई जानकारी दिएका छन्।

अस्पताल प्रमुखहरुले ओपीडी र शल्यक्रियाहरूमा युनिट थप, टोकन प्रणाली लागू गरेको, अनलाइन टिकट व्यवस्थापन गरेको, विद्युतीय भुक्तानी प्रणाली व्यवस्थित गरेको, अस्पतालको सेवा सम्बन्धी जानकारी प्राप्त गर्न कार्य सुरु गरेको,सोधपुछ तथा गुनासो सुन्ने कक्ष व्यवस्थित गरेको जानकारी दिएका थिए ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पताल प्रमखुहरुको कुरा सुनेपछि अस्पतालको लाइन व्यवस्थापन, अस्पतालको सरसफाइ, शल्यक्रियाको पालो कुर्नुपर्ने अवस्थाबारे गम्भीर भएर व्यवस्थापन गर्न निर्देशन दिएका छन्। 

मन्त्री पौडेलले चिकित्सकहरुलाई कार्यलय समयमा अनिवार्य अस्पतालमै रहन पनि  निर्देशन दिएका छन्।

‘डिउटीको समयमा अनिवार्य अस्पतालमै रहनुस्,’ मन्त्री पौडेलले अस्पताल प्रमुखहरुलाई भने, ‘डिउटीको समयमा कोही पनि अनुपस्थिति हुनु हुँदैन, यसलाई कडाइका साथ लागू गर्न जरुरी छ।’

मन्त्री पौडेलले अस्पतालहरुमा स्रोत–साधन, भौतिक संरचना तथा जनशक्तिको कमि लगायतका समस्या समाधानका लागि दीर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने बताए।

अहिले भएकै संरचना र जनशक्तिबाट गुणस्तरिय सेवा प्रवाहका प्रयास गर्न मन्त्री पौडेलले आग्रह पनि गरे।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update