काठमाडौँः पछिल्लो एक साता यता ललितपुर र कैलालीमा गरी कुल १० जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको विवरण उल्लेख गर्दै कुल १० जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
‘ललितपुरमा आज थप तीन जनामा र कैलालीमा एक जना नयाँ संक्रमित फेला परेका छन् । हिजोसम्म ललितपुरमा चार र कैलालीमा दुई जनामा हैजाको संक्रमण देखिएको थियो ,’इडिसिडीका निर्देशक डा. यदुचन्द्र घिमिरेले भने ।
उनले कैलालीका संक्रमितको सेती अस्पताल र ललितपुरका संक्रमितहरुको टेकु तथा पाटन अस्पतालमा उपचार भइरहेको बताए । अहिले इडिसिडीको टोलीले, प्रदेश, जिल्ला र स्थानीय पालिकासंग समन्वय गरेर थप खोजपडताल, संक्रमितको उपचार र संक्रमणको स्रोत पत्ता लगाउने काम गरिरहेको जनाएको छ ।
गर्मी तथा बर्खा लागे संगै देशमा बर्षेनी हैजाको संक्रमण देखा पर्ने गरेको छ । यस वर्ष अहिलेसम्म कसैको ज्यान नगएको भए पनि ‘आउट ब्रेक’ हुन सक्ने सम्भावन भएकोले सबैलाई सचेत हुन बिज्ञले सुझाव दिएका छन । बिज्ञका अनुसार नेपाल सरकारले पनि बिशेष जनचेतनाका कार्यक्रमहरु अगाडी बढाउने र संक्रमणको स्रोत पत्ता लगाउन बिशेष संयन्त्र अपनाउन समेत सुझाव दिएका छन ।