
काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल र न्याम्सको विषय कुनै विवाद नभएको बताएका छन् । वीर अस्पतालको १३५औं वार्षित्कोसत्वको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले भने,‘वीर हस्पिटलपनि रहिरन्छ । न्याम्सपनि रहन्छ । नेपालको यो ऐतिहासिक संस्था समाप्त हुँदैन् । त्यसैले धेरै स्वास्थ्य संस्था भए सरकारमा त्यसमा लगानी गर्न सक्यो भने अझैपनि नागरिकलाई आवश्यक पर्नेगरि हामीले क्षमता अभिवृद्धि गर्न सकेका छैनौं । अर्को जनशक्ति उत्पादन गर्ने पनि स्वास्थ्य क्षेत्रको दायित्वभित्र पर्छ ।’
वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट अलग हुने चर्चाकीबीच स्वास्थ्यमन्त्री पौडेलले भने दुई संस्थाबीच कुनै विवाद नरहेको दाबी गरेका हुन् । वीर र न्याम्स दुबै रहने उनको भनाइ छ ।
स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारको लागि सुझाव तथा मार्गनिर्देशन दिनको लागि वरिष्ठ चिकित्सकहरुसँग अनुरोध गरेका छन् । उनले अघि थपे,‘म आग्रह गर्न चाहन्छु–स्वास्थ्य क्षेत्र सुधारको लागि हामीले के गर्न सकिन्छ ? जीवन नै चिकित्सा क्षेत्रमा बिताउनुभएका अग्रजहरु मैले सम्मान र नमन गर्नुपर्ने अति आदरणीय व्यक्तित्वहरु यहाँ हुनहुुन्छ, यहाँहरुलाई म आग्रह गर्न चाहन्छु यो क्षेत्र सुधारका निम्ति हामीलाई सिकाईदिनुहोस । कस्ता कस्ता नीति तथा नियमहरु बनाउँदा यो क्षेत्र प्रभावकारी बन्नसक्छ ? हामीलाई गाइडलाइन दिनुहोस । मार्गनिर्देशन गरिदिनुहोस् ।’
वीरको १३५औं वार्षित्कोसत्वको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलका साथै स्वास्थ्य मन्त्रालयका सचिवद्वय डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली, राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, न्याम्सका उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेत, रेक्टर प्रा.डा. लोचन कार्की, स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा, राष्ट्रिय ट्रमा सेन्टरका मेसु रुद्रप्रसाद मरासिनी, वीरका निर्देशक सन्तोष पौडेलल, न्याम्सका डीन आशेष ढुंगानालगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।