काठमाण्डौः हेपाटाइटिसका बारेमा मानिसहरू धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यस बारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन । तर कम विकसित मुलुकहरूमा ढल र पानीको व्यवस्थापन राम्रोसँग नभएकाले मानिसहरू कलेजो सम्बन्धी रोगबाट पीडित भइरहेका छन् । खासगरी बर्खायाममा भाइरल हेपाटाइटिस ‘ई’ र भाइरल हेपाटाइटिस ‘ए’जसलाई साधारण भाषामा जन्डिस भनेर बुझ्छौँ । जन्डिसको समस्या विशेष गरी बर्खायाम बढी देखिन्छ ।
खानाको माध्यमबाट, फोहोर पानीबाट शरीरमा हेपाटाइटिस ‘ए’ र हेपाटाइटिस ‘ई’ भाइरस प्रवेश गरिसकेपछि जन्डिसको लक्षणहरू देखिन्छ । यस्तो लक्षण हरेक वर्ष देखिने गर्छ । कुनैबेला अलि धेरै मात्रामा देखिन्छ र कुनैबेला थोरै देखिने गर्दछ । यस्तो समस्या खानापनका कारण नै हो देखिने । राम्रोसँग नउमालेको पानी, राम्रोसँग नपकाएको वा कुकरमा नपकाएको खाना खाँदा भाइरसहरू देखिन सक्छ । हाम्रोजस्तो मुलुकमा वर्षायाममा यस्तो समस्याहरू बढी मात्रामा देखिने गर्छ ।
पानीको व्यवस्था कमजोर भएको ठाउँमा रोगको समस्या बढी देखिन्छ । जहाँ मानिसहरूको धेरै बसोबास छ त्यहाँ बढी जोखिम हुन्छ । राजधानी काठमाडौँको कुरा गर्ने हो भने पनि पानीको मात्रा निकै कमजोर छ, जताततै पानी र ढलका पाइपहरू छन् । पाइपहरूलाई व्यवस्थापन गर्ने क्रममा फुटेर फोहोर मिसिएको ढलसँग जोडिन पुग्छन् र सहरी क्षेत्रमा यसैको कारणले भाइरल हेपाटाइटिस बढी देखिने गर्छ । बाटो किनारमा बेच्न राखिएका पानी पुरी, चटपटे, चिया पसलतिर प्रयोग गरिएको पानी ठिक छैन भने त्यसबाट हेपाटाइटिस ‘ई’ र ‘ए’ लाग्ने गर्दछ ।
हेपाटाइटिस र लिभरसिरोसिज
वास्तवमा हेपाटाइटिस भनेको कलेजोमा देखिने रोग हो । यो दुई किसिमको हुन्छ । एउटा फोहोर पानीबाट सर्ने किसिमको हुन्छ । जुन‘ई’ र ‘ए’ हो भने अर्को ‘बि’र ‘सी’ भन्ने हुन्छ । यस्ता रोगहरू तराई, हिमाल, पहाडमा जहाँ पनि देखिने गर्छ । कुनै भूगोलमा कम मात्रामा देखिएला ।
लिभरसिरोसिज भनेको कलेजोमा पटक पटक ईन्फेक्सन, फाइब्रोसिज हुँदै गइसकेपछि कलेजो कडा हुँदै जान्छ । कलेजोले जुन हिसाबले काम गर्नुपर्छ वा जुनचिज उत्पादन गर्नुपर्छ त्यसको स्टकचरमै समस्या आइसकेपछि लिभरसिरोसिज हुन्छ । लिभरसिरोसिज धेरै कारणले हुन्छ । भाइरल हेपाटाइटिसको उपचार समयमै गर्न सकिएन भने लिभरसिरोसिज हुन्छ । हाम्रोजस्तो मुलुकमा रक्सीको कारणले र कसैमा जन्मजातै लिभरसिरोसिज देखिने गर्छ । तर लिभरसिरोसिज आजको दिनमा हाम्रो जस्तो मुलुकमा ठुलो समस्या बन्दै गइरहेको छ । विशेष गरी वीर अस्पतालमा गयौँ भने ४० जना बिरामी वार्डमा भर्ना छन् भने त्यसमा करिब ८० प्रतिशत व्यक्ति रक्सीको कारणले कलेजो कडा भएर लिभरसिरोसिजभएको पाइएको छ । लिभरसिरोसिज भइसकेपछि सिरोसिसमार्फत समयमै उपचार भएन भने क्यान्सर पनि हुनसक्छ ।
क्यान्सरको जोखिम
हेपाटाइटिस सामान्य भाषामा बुझ्ने हो भने यो ‘ए’ देखि ‘ई’ सम्म हुने भएकाले हरेक स्टेजमा सजक रहनुपर्ने हुन्छ । ‘ए’ र ‘ई’ फोहोर पानीबाट सर्ने गर्दछ भने ‘बी’, ‘सी’र ‘डि’ इन्फेक्सन भइसकेपछि लामो समयसम्म शरीरमा रहिरहन्छ । त्यसकारण हेपाटाइटिस ‘बी’र ‘सी’क्रोनिक भएर समयमै उपचार गरिएन भने लिभरसिरोसिज क्यान्सर हुने गर्दछ ।
हेपाटाइटिसबारे बुझ्दाखेरी लामो समयदेखि राष्ट्रलाई आर्थिक रूपमा अप्ठ्यारो पार्ने चाहिँ क्रोनिक हेपाटाइटिस ‘बी’ र ‘सी’हो । हेपाटाइटिस ‘ए’ र ‘ई’ को चाहिँ सजिलै तरिकाबाट उपचार सम्भव हुने गर्छ । रोकथामपनि सम्भव छ । ‘बि’र ‘सी’चाहिँ विभिन्न पोलिसी, लेवलमा उपचार गर्दै अगाडि बढ्नुपर्छ । हाम्रो देशमा हेपाटाइटिस ‘बि’ र ‘सी’को उपचार सम्भव छ । अहिले अन्तर्राष्ट्रिय जगतमा औषधि उत्पादन भएका छन् । त्यस्तो औषधि हाम्रो देशमा पनि उपलब्ध छ ।
पहिला हेपाटाइटिस ‘सी’को उपचार खर्च धेरै लाग्ने गर्दथ्यो । करिब पाँचदेखि १० लाखलाग्ने गर्दथ्यो । तर हिजो आज करिब एक लाख रुपैयाँमा हेपाटाइटिस‘सी’ को उपचार गर्न सकिन्छ । १२हप्ताको औषधि प्रयोग गरिसकेपछि बिरामी राम्रो हुने गर्दछ । तर हेपाटाइटिस ‘बि’ को भाइरस अलि फरक प्रवृत्तिको हुन्छ । यसकालागि औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । कसैले दुई वर्ष, कसैले चार वर्ष, कसैले पाँच वर्ष र कसैले जीवनभरि यसको औषधि खानुपर्ने हुन्छ । हाम्रो मुलुकमा हेपाटाइटिस ‘बि’र ‘सी’दुवैको उपचार नीजि र सरकारी दुवै स्वास्थ्य केन्द्रमा गरिन्छ ।
सङ्क्रमण र लक्षण
फोहोर पानीबाट सर्ने हेपाटाइटिस ‘ए’ बढीजसो बच्चाहरूमा देखिन्छ । हेपाटाइटिस ‘ई’ वश्यकमा देखिन्छ र हेपाटाइटिस ‘बि’र ‘सी’चाहिँ प्रायः जसो स्क्रिनिङ गर्यौं भने मात्रपत्ता लाग्नसक्छ र यदी आमामा समस्या छ भने बच्चामा पनि सर्ने गर्दछ ।
हेपाटाइटिस ‘बि’र ‘सी’ सर्ने माध्यम भनेको शारीरिक समर्पकबाट, तरल पदार्थबाट र रगतजन्य पदार्थबाट सर्ने गर्दछ । अपरेसन गर्दा, दुर्घटना पर्दा या हाइरिक्स बानीले गर्दा यो चाहिँ वयस्कमा बढी देखिने गर्दछ । हेपाटाइटिस भनेको भाइरल रोग हो । भाइरसले गर्दा हुने समस्या हो । जसरी अरू भाइरसहरू सर्ने गर्दछन् त्यसरी नै सर्दछ । यसको लक्षण देखिदा खान मन नलाग्ने, जिउँ दुख्ने, ज्वरो आएजस्तो हुने गर्दछ । आँखा पहिलो हुने, जिउँ पहेँलो हुने, वाकवाकी लाग्ने र लिभर टेस्ट गर्दा रिपोर्ट बिग्रेको देखाउँछ । अनित्यसको लेवलहरु पत्ता लाग्दै जान्छ ।
लिभरसिरोसिज भएपछि भने धेरै कुरामा ख्याल गर्नुपर्छ । रक्सी खाने बानी छ भने बन्द गर्नुपर्छ । अन्यरिक्स फ्याक्टरबाट टाढा रहनुपर्छ । सामान्य अवस्थामा रह्यौँ भने लिभर ट्रान्सफर गर्नु पर्दैन । तर पटक पटकअस्पताल भर्ना हुनुपर्ने अवस्था छ,पेटमा पानी भरिएर इन्फेक्सन भयो वा रगतका नसाहरू फुलेर रक्तस्राव भयो भने त्यो बेला कलेजो प्रत्यारोपण गर्नुपर्दछ ।
कोभिड हुँदा त्यसको इन्फेक्सनलिभरमा हुने गर्छ । कोभिडले असर नगर्ने कुनै अङ्ग नै छैन । मुटुमा, फोक्सोमा, ब्रेनमा, लिभरमा सबैतिर असर गर्ने भएकाले खासगरी लिभर इन्जाइम बढेर आउने बिरामी धेरै हुन्थे । कलेजो प्रत्यारोपण अर्थात लिभर ट्रान्सप्लान्ट चाहिँ कुन कारणले लिभरसिरोसिज भएको हो त्यस आधारमा गर्ने हो । समयमै पत्ता लाग्यो भने लिभर ट्रान्सप्लान्ट गर्नु पर्दैन । लिभर ट्रान्सप्लान्ट गरिसकेपछि डराइरहनु पर्दैन । स्वास्थ्य भएर बाँच्न सकिन्छ ।
हेपाटाइटिस लाग्नै नदिन दूषित पानी तथा खानेकुरा खानै हुँदैन । खाना खानु अगाडि साबुन पानीले राम्ररी हात धुने गर्नुपर्छ । सफा बस्ने, मौसम अनुसारका फलफूलहरू सफा गरेर खाने गर्नुपर्दछ । वर्षायाममा पानीका मुहानहरू फोहोर हुने सम्भावना भएकाले त्यसमा चनाखो बन्नुपर्छ ।
पानी राम्ररी उमालेर मात्र सेवन गर्ने, गर्भवती महिलाले चिकित्सकसँगको सल्लाहअनुसार हेपाटाइटिस विरुद्धको खोप लगाउने र बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउने गर्न सकियो भने यो रोगबाट बच्न सकिन्छ । लागूऔषध र मादक पदार्थ सेवनबाट टाढा रहनुपर्छ ।
सरकारी चासो न्यून
अहिलेसम्म कलेजोलाई पब्लिक हेल्थ इस्यू मानिएको छैन । भाइरल हेपाटाइटिस ‘ए’,‘ई’ र भाइरल हेपाटाइटिस ‘बि’र ‘सी’लाई जनस्वास्थ्यको मेजर थ्रेट मान्नुपर्ने हो तर त्यसो भएको पाइँदैन । सरकारको तर्फबाट लिभर हेल्थको लागि जतिकाम कारवाही हुनुपर्ने हो त्यो भएको छैन ।
यस विषयमा सरकारले बढी गम्भीर भएर लाग्नुपर्छ । जसको डाइनोसिस भयो त्यसको औषधि गर्नको लागि पहुँच आवश्यक पर्छ । त्यसका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिदियो भने सहज हुन्छ । अन्य सेवा सुविधा विस्तार गरेर हेपाटाइटिसका सबैखाले जोखिम न्यूनीकरणका लागि सरकारले काम गर्नुपर्छ ।
( कलेजो रोग विशेषज्ञ प्रा.डा.दिलिप शर्मासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)