काठमाडौं: नेपालमा स्तनपान गराउनेहरुको संख्या ५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ। परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाले सोमबार स्तनपान सप्ताहको अवसरमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ का अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको पाइएको छ।
यस्तै, शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत रहेको छ। पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशत रहेको छ।
पूर्ण स्तनपानको दर माध्यमिक तहभन्दा बढी शिक्षा लिएका आमाहरुमा कम देखिएको छ। न्यून आय भएकामा ६४ प्रतिशतमा र उच्च आय भएका ४४ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेको देखिन्छ। उक्त सर्वेक्षणल नेपालमा बोतलपान गराएका शिशुको संख्या बागमती प्रदेशमा सबैभन्दा बढी ४३ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत रहेको देखाएको छ।
नेपाल जनसांख्यिक तथा ग्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा ५ वर्षमुनिका २५ प्रतिशत बालबालिकाहरुमा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन, १९ प्रतिशतमा कम तौल र ८३ प्रतिशतमा रक्तअल्पता पाइएको छ। संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको छ। सबै प्रकारको कुपोषण न्युनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुने विज्ञहरु बताउँछन्।
पूर्ण स्तनपान गराउँदाका फाइदा
जन्मनेबितिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो,पहेंलो बिगौती दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुने भएकोले यसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउँछ। स्तनपानलाई पहिलो खोपका रुपमा समेत लिइन्छ। स्तनपानले बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ। बच्चा जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध अनिवार्य रुपमा खुवाउनुपर्छ। स्तनपानले आमा र बच्चा दुवैलाई फाइदा हुन्छ।
स्तनपानले शिशुको शारीरिक तथा मानसिक विकास गराउनुका साथै कुपोषण हुनबाट समेत जोगाउँछ। स्तनपान गराउने आमालाई स्तन तथा पाठेघरको क्यान्सरको जोखिम कम हुन्छ। नियमित स्तनपानले यसरी गर्भावस्थामा बढेको अनावश्यक तौललाई नियन्त्रणमा ल्याउन सहयोग गर्छ।
स्तनपानलाई बढावा दिन गरिएका सरकारी प्रयासहरु
-आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन ,२०४९ र नियमावली,२०५१ का प्रावधानहरु कार्यान्वयन गर्ने कार्य भइरहेको छ। त्यसका लागि निरिक्षकहरुको नियुक्ति भइ क्षमता विकास तालिम सम्पन्न भएको छ।
-आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण ऐन,२०४९ र नियमावली ,२०५१ का प्रावधानहरु कार्यान्वयनका लागि नेपालका विभिन्न अस्पतालहरु,मेडिकल कलेजहरु,औषधि व्यवसायीहरु आदिसँग विभिन्न पैरवी कार्यक्रम गरिएको छ।
-सरकारी तथा गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत्त महिलालाई कम्तीमा ९८ दिनसम्मको प्रसूती बिदाको व्यवस्था गरिएको छ। चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्मको बेतलबी बिदा समेत लिन पाउने व्यवस्था गरिएको छ।
-स्तनपान गराइरहेकी आमालाई कार्यालयभित्र स्तनपानमैत्री वातावरणको सृजना गर्नका लागि कार्यालहरुसँग समन्वय,पहल,पैरवी गर्ने कार्य भइरहेको छ।स्तनपानलाई संरक्षण र सहयोग गर्न स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान ६२ अस्पतालहरुमा पुगिसकेको छ।
-परोपकार प्रसूती तथा स्त्रीरोग अस्प्ताल,थापाथलीमा स्तनपान व्यवस्थापन केन्द्र स्थापना गरिएको छ। यस आर्थिक वर्षमा बि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्तनपान व्यवस्थापन केन्द्र र ९ अस्पतालहरुमा स्तनपान व्यवस्थापन इकाई स्थापना गरिदैंछ।